चितवन : नेपालकै सबैभन्दा धेरै एकसिङ्गे गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा २२ वटा गैँडाको मृत्यु भएको छ। निकुञ्ज प्रशासनका अनुसार तीमध्ये २० वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जभित्र र दुई वटा राष्ट्रिय वन क्षेत्रमा मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले जानकारी गराए ।
पुनका अनुसार मृत्यु भएका गैँडामध्ये दुई वटा करेन्ट लागेर मरेका छन् भने बाँकी २० वटा विभिन्न प्राकृतिक कारणले मरेका हुन्। करेन्ट लागेर मरेका गैँडामध्ये एउटा चितवनको माडी क्षेत्रमा र अर्को नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को लोकाहा खोला नजिक राष्ट्रिय वन क्षेत्रमा फेला परेको थियो। यी घटनाले वन्यजन्तु संरक्षणमा विद्युतीय करेन्टको जोखिम अझै कायम रहेको देखाएको छ। उनका अनुसार अन्य गैँडाको मृत्यु दलदलमा फस्ने, आपसमा जुध्ने, वृद्धावस्थाका कारण कमजोर बन्ने तथा बच्चा गैँडामाथि बाघको आक्रमण हुनेजस्ता प्राकृतिक कारणले भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए ।
प्रत्येक घटनाको प्राविधिक टोलीबाट मुचुल्का तथा परीक्षणपछि मृत्युको कारण पुष्टि गरिएको निकुञ्जले जनाएको छ। तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ३० वटा गैँडाको मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए। यस वर्षको तथ्याङ्कसँग तुलना गर्दा गैँडाको मृत्यु संख्या केही घटेको देखिए पनि संरक्षणका चुनौती भने यथावत् छन्।
सन् २०२१ मा गरिएको राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क एकसिङ्गे गैँडा रहेका छन्। नेपालको एकसिङ्गे गैँडा संरक्षणको मुख्य आधार मानिने चितवनमा प्राकृतिक जोखिमसँगै मानवजन्य गतिविधिबाट हुने दुर्घटना न्यूनीकरण गर्न थप प्रभावकारी संरक्षण र निगरानी आवश्यक रहेको संरक्षणकर्मीहरूको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij