रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले गत आर्थिक वर्षमा १ हजार १ सय ५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए।
तीमध्ये ६८० मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्। सो अवधिमा ६१४ जनालाई पक्राउ गरिएको उनले बताए। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता भई ५१ जना पक्राउ परेका छन्। प्रहरीले ८८७ केजी २० ग्राम गाँजा, २५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर, २ हजार २५६ एम्पुल तथा १३ हजार ३१९ ट्याब्लेट बरामद गरेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत ४४८ फरार प्रतिवादी पक्राउ गरिएको एसपी रिजालले बताए। पक्राउ परेकाबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै ६३ लाख ७१ हजार ५७४ रुपैयाँ जरिवाना असुल गरिएको उनले जानकारी दिए।
अवैध हातहतियार नियन्त्रणतर्फ ६ थान हतियार र ११ राउन्ड गोली बरामद गरिएको छ भने ३ जनालाई पक्राउ गरिएको छ। त्यस्तै, खोटा मुद्रा सम्बन्धी ३ मुद्दामा ७ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। सवारी दुर्घटनातर्फ गत आर्थिक वर्षमा १ हजार ८८ वटा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको तथा १ हजार ६६९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गर्दा १ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
भन्सार छली नियन्त्रण अभियानमा १८ जनालाई पक्राउ गरी ५५५ सवारी साधन नियन्त्रणमा लिइएको छ। साथै ५ करोड १२ लाख ५५ हजार २२ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए। उनका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो। यस अवधिमा १३ लाख ६२ हजार २०० रुपैयाँ स्रोत नखुलेको नगदसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अवैध काठ तस्करी, अवैध उत्खनन तथा अवैध मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत ठूलो परिमाणमा काठ बरामद गर्नुका साथै ३० वटा सवारी साधन नियन्त्रणमा लिइएको, ५ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको र त्यसमा प्रयोग भएका विभिन्न उपकरण तथा सामग्रीसमेत नष्ट गरिएको जानकारी दिइयो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन गरिएको छ।
त्यस्तै, एक वर्षको अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सीमित जनशक्तिका बाबजुद प्रभावकारी सेवा प्रवाह गर्न सफल भएको बताए। अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व संरक्षण तथा सामुदायिक प्रहरी सेवामा प्राप्त उपलब्धिमा स्थानीयवासी र सरोकारवाला निकायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij