चितवन : भरतपुर महानगरपालिका–१५ स्थित मनकामना चोकमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएको बोलेरो गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत साउन ५ गते राति करिब ९ बजे नम्बर नखुलेको सवारी साधनले बा.प्र. ०३–००४ प ६२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालकको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइतेलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेको पहिचान खुल्न नसके पनि प्रहरीको अनुसन्धानबाट उनी तनहुँ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–५ मा डेरा गरी बस्ने ३२ वर्षीय सुजन गुरुङ रहेको खुलेको छ।
दुर्घटनापछि फरार भएको सवारी साधन र चालकको खोजी गर्ने क्रममा प्रहरीले साउन ६ गते ना ४ च १०३८ नम्बरको बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा पर्ने चालक भरतपुर महानगरपालिका–१६, विजयनगर निवासी ३१ वर्षीय जीवन्त सुवेदी हुन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij