सुनसरी : इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीषणबाबु राईविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया सुरु भएको छ।
प्रहरी प्रधान कार्यालयले हेलो सरकारमा परेका दुई छुट्टाछुट्टै उजुरीमाथि आवश्यक छानबिन गर्न निर्देशन दिएपछि अनुसन्धान अघि बढाइएको हो। उजुरीमा डीएसपी राईमाथि अवैध रूपमा रकम असुलेको र लागुऔषध कारोबारमा संलग्न व्यक्तिसँग मिलेमतो गरेको आरोप लगाइएको छ।
प्रहरी स्रोतका अनुसार दुवै उजुरी असार २० गते दर्ता भएका हुन्। उजुरीमा धरान क्षेत्रमा हुने जुवा, तास, लागुऔषध ओसारपसार लगायतका गतिविधिमा संलग्न व्यक्तिहरूबाट नियमित रकम उठाउने गरेको आरोप उल्लेख गरिएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि कोशी प्रदेश प्रहरी कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सात दिनभित्र प्रगति विवरण बुझाउन भनिएको छ। सोहीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
डीएसपी राईले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आफू धरान आएपछि जुवा, तास र लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गरेकाले असन्तुष्ट व्यक्तिहरूले बदनियतपूर्वक उजुरी दिएको हुन सक्ने दाबी गरेका छन्। प्रहरीले उजुरीमा उल्लेख गरिएका विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij