काठमाडौं :अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्। सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बिहीबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। हाल उनलाई साइबर ब्युरोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफूलाई धर्मभित्र रहेका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउँदै आएकी केसी पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा थिइन्। उनले धार्मिक व्यक्तित्व तथा आफूलाई ‘माता’ भनेर चिनाउने व्यक्तिहरूका गतिविधिमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री सार्वजनिक गर्दै आएकी थिइन्।
धर्म, आस्था र परम्पराका नाममा हुने विकृति र विसंगतिविरुद्ध आवाज उठाइरहेको दाबी गर्दै आएकी केसीका अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको थियो। यद्यपि, कथावाचिका राधिका दासीले ती सामग्रीले अनास्था फैलाएको, भ्रम सिर्जना गरेको तथा व्यक्तिगत चरित्रहत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीपछि प्रहरीले केसीलाई पक्राउ गरी विद्युतीय कारोबार तथा साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ।