काठमाडौं : लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) कोटेश्वरले लागू औषधविरुद्धको अभियानलाई थप तीव्र बनाउँदै सिराहाबाट ठूलो परिमाणमा खैरो हेरोइनसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ लागू औषध खैरो हेरोइन ओसारपसार तथा बिक्री वितरण गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा एनसीबी कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाएको थियो ।
सोही क्रममा २०८३ साल साउन ७ गते सिराहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागू औषध कारोबार भइरहेको अवस्थामा प्रहरीले ६ जनालाई फेला पारेको थियो । नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको एनसीबीले जनाएको छ ।
हवाई फायरपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । गोली लागेर भारत बिहारका २२ वर्षीय विधानन्द यादव र सप्तरी रुपनी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद नसिर घाइते भएका हुन् । दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ ।
एनसीबी कोटेश्वरको टोलीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, दुई थान मोटरसाइकल र सात थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहारका विधानन्द यादवसहित सप्तरीका मोहम्मद नसिर, शम्भु प्रसाद यादव, मोहम्मद जमाहिर आलम, बैधनाथ प्रसाद यादव र मोहम्मद इमामुदिन रहेका छन् ।
एनसीबी कोटेश्वरले पछिल्लो समय लागू औषधको अवैध कारोबार, ओसारपसार र बिक्री वितरण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ । सीमा क्षेत्रबाट हुने लागू औषध तस्करी नियन्त्रणमा ब्यूरोको सक्रियताले पछिल्ला दिनमा उल्लेखनीय सफलता हासिल भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij