हेटौंडा : समर्थन विवादका वीच बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन् । प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगरलाई नियुक्ति प्रक्रिया अघि बढाएका हुन् । उनले बुधबार एमाले, नेकपा र राप्रपासहितको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।
आजै नियुक्ति र शपथ
प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति निकालेर किरण थापा मगरलाई आज अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गरिने र ४ बजरेर २० मिनेटमा शपथको कार्यक्रम रहने जानकारी दिएको छ। राप्रपाले पार्टी बागमती प्रदेश संसदीय दल नेताले दिएको समर्थन पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरे पनि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा राप्रपासहितको समर्थनमा किरण थापा मगरलाई नियुक्त गर्न लागेका हुन्।
विवादकावीच राप्रपाका तीन मन्त्री बन्दै
बागमती प्रदेशमा बन्न लागेको नेकपा र नेकपा -एमाले) नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) भित्र विवाद चर्किएको छ। राप्रपाको केन्द्रदेखि बागमती प्रदेश संसदीय दलको सचिवालयले समेत समर्थन आधिकारिक नभएको दाबी गरिरहेका छन्।
यद्धपि, राप्रपाका तीन सांसद भने आजै मन्त्रीको शपथ लिने तयारीमा जुटेका छन्। बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ -ज्ञानुजंग लामा) को नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी हुन लागेको राप्रपाले जनाएको छ। बागमतीमा सरकार बनाउन बहुमतका लागि ५३ सांसद चाहिनेमा एमाले र नेकपालाई २ सांसद अपुग थियो। १२ सांसद रहेको राप्रपा संसदीय दल नेताले समर्थन जनाएपछि बहुमत पुगेको थियो।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij