Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

भक्तपुरका किरण थापाको राजनीतिक छलाङ: वडाध्यक्ष छोडेको साढे चार वर्षमै बने मुख्यमन्त्री

भक्तपुरका किरण थापाको राजनीतिक छलाङ: वडाध्यक्ष छोडेको साढे चार वर्षमै बने मुख्यमन्त्री

काठमाडौं : साढे चार वर्षअघिसम्म भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षका रूपमा सीमित किरण थापामगर आज बागमती प्रदेशको सर्वोच्च कार्यकारी पद ‘मुख्यमन्त्री’ मा नियुक्त भएका छन्। वडाध्यक्षको कार्यकाल पुरा गरेको छोटो समयमै प्रदेशसभा सदस्य, दुईपटक स्वास्थ्य मन्त्री हुँदै मुख्यमन्त्रीसम्म पुगेको उनको यो यात्रालाई नेपाली राजनीतिमा असाधारण र तीव्र गतिमा भएको पदोन्नतिको रूपमा हेरिएको छ।

नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै उनको राजनीतिक यात्राले महत्त्वपूर्ण मोड लिएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको थियो। मुख्यमन्त्रीका लागि एमालेभित्र तीव्र आन्तरिक प्रतिस्पर्धा चले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरन्तर चासो र छलफलपछि थापाको नाममा सहमति जुटेको थियो। पछिल्लो समय थापालाई अध्यक्ष ओलीका अत्यन्तै विश्वासपात्र नेताका रूपमा लिइन्छ।

किरण थापाको राजनीतिक पृष्ठभूमिका सुरुवाती दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको हो। पछि एमाले प्रवेश गरेका उनले पछिल्लो एक दशकमा पार्टीभित्र धेरै महत्त्वपूर्ण अवसर र जिम्मेवारीहरू प्राप्त गरे।

स्थानीय जनप्रतिनिधिका रूपमा सूर्यविनायक–८ को पाँच वर्षे वडाध्यक्षको कार्यकाल सफलतापूर्वक पुरा गरेपछि उनी बागमती प्रदेशसभामा पुगेका थिए। प्रदेशसभा सदस्य बनेपछि उनको राजनीतिक प्रभाव अझ तीव्र बन्यो। प्रदेश सरकारमा उनले दुईपटकसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले। स्वास्थ्य मन्त्रीका रूपमा प्रदेशका स्वास्थ्य संस्था र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरेका कारण उनले पार्टी नेतृत्वको विश्वास जित्न सफल भए।

मुख्यमन्त्री बनेसँगै थापासामु राजनीतिक चुनौतीहरू पनि उत्तिकै खडा भएका छन्। १०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, सत्ता साझेदार एमाले र नेकपासँग ५१ जना मात्र सांसद छन्, जसमा एमालेकी उपसभामुख अप्सरा चापागाईं भएकाले अंकगणित थप जटिल बनेको थियो।

अन्ततः राप्रपाको एक समूहले समर्थनको लिखित पत्र प्रदेश प्रमुखलाई बुझाएपछि थापाको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। यद्यपि राप्रपाभित्रको आन्तरिक खिचातानीका कारण मुख्यमन्त्रीले आगामी दिनमा लिने विश्वासको मतको आधार भने अझै चुनौतीपूर्ण देखिन्छ।

मिलनसार राजनीतिज्ञको छवि बनाएका थापाका लागि यो नयाँ जिम्मेवारी आफ्नो राजनीतिक क्षमता र प्रशासनिक दक्षता पुनः प्रमाणित गर्ने अवसर बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट