सुनसरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी खोलाको बाढी जोखिम न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन योजना अघि बढाउन निर्देशन दिएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले बाढी नियन्त्रणसँगै सिँचाइ विकासका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका हुन्। स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँगको छलफलमा उनले सुनसरी खोलाबाट हुने बाढीको जोखिम घटाउन तत्कालीन तथा दीर्घकालीन योजना समानान्तर रूपमा अघि बढाउनुपर्ने बताए।
रणनीतिक महत्वको भोक्राहा सबस्टेशनसमेत बाढीको जोखिममा रहेकाले सम्भावित क्षति न्यूनीकरणका उपाय तत्काल पहिचान गर्न जलस्रोत तथा सिँचाइ विभागलाई उनले निर्देशन दिए। मन्त्री श्रेष्ठले जाइकाको सहयोगमा यसअघि गरिएको सुनसरी नदी सिँचाइ आयोजनासम्बन्धी अध्ययनलाई पनि अद्यावधिक गरी कार्यान्वयनमा लैजानुपर्ने बताए। वर्तमान अवस्था, बढ्दो बस्ती विकास तथा जलवायुजन्य जोखिमलाई ध्यानमा राखेर अध्ययन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।
उनले नदी व्यवस्थापन र बाढी नियन्त्रणलाई सिँचाइ आयोजनाकै अभिन्न हिस्साका रूपमा अघि बढाउनुपर्ने बताए। निरीक्षण तथा छलफलमा सांसदहरू, मन्त्रालयकी सचिव सरिता दवाडीलगायत सम्बन्धित अधिकारीहरूको सहभागिता थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij