Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

आजबाट निजी सवारी साधनका लागि पनि खुल्यो नागढुंगा सुरुङ

आजबाट निजी सवारी साधनका लागि पनि खुल्यो नागढुंगा सुरुङ

काठमाडौँ : एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङ मार्ग आज सोमवारदेखि निजी सवारी साधनका लागि पनि खुला गरिएको छ।९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमवारदेखि सुरुङ प्रयोग गरेर काठमाडौँ–धादिङ आउजाउ खुला गरिएको हो।

उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमवार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए।

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ। 

तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए। उनकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ। आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए।

सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ।

सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा यूनिट, शुल्क संकलन गर्ने यूनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले सुनाए।  

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो। 

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij