Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक :  पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन् । सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो ।

“डाक्लाङमा सडक सहज भइसकेको छ । अब इकोमा पनि सडक खोलिएको छ । लिपिङमा पनि मर्मतसम्भार शीघ्र थालिने छ”, उक्त कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भने।

सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए । उनका अनुसार लिपिङपारि करिब ८५ कन्टेनर अझै अलपत्र छन् ।

अन्तरष्ट्रिय राजमार्ग यति लामो समयदेखि बन्द हुँदा आफूहरूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्दै उनले वर्षा कम भएसँगै बाँकी अवरोध पनि हट्ने र दसैँका लागि सामान आयात गर्न सहज हुने विश्वास व्यक्त गरे । 

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटकपटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ । इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुननसक्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij