Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको मृत्यु

सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको मृत्यु

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका प्रिंयासुको सोमबार साँझ ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

३ भदौ राति करिब १० बजे प्रिंयासु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सुतिरहेका बेला सर्पले डसेको थियो। प्रिंयासुलाई कानमा र दिव्यांशुलाई खुट्टामा सर्पले डसेको परिवारले जनाएको छ। सर्पले डसेपछि उनीहरूलाई तत्काल उपचारका लागि लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएको थियो। उक्त अस्पतालले दुवैलाई विराटनगर रेफर गरेको थियो ।

अस्पतालमा आवश्यक एन्टिस्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) उपलब्ध नभएको भन्दै बिरामीलाई विराटनगर रेफर गरिएको परिवारको दाबी छ । तर अस्पतालले भने एन्टिस्नेक भेनम लगाएर विराटनगर पठाइएको बताएको छ ।

विराटनगरमा उपचाररत दाजुभाइमध्ये प्रियांसुको अवस्था गम्भीर बन्दै गएपछि सोमबार साँझ ६ बजे उनको मृत्यु भएको दाजु मुकेश भगतले जानकारी दिए। उनका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन गाउँदेखि सामाजिक सञ्जालसम्म ‘दाजुभाइ बचाउ अभियान’ सञ्चालन गरिएको थियो। दिव्यांशुको स्वास्थ्य अवस्था भने अहिले सामान्य हुँदै गएको र उनलाई सोमबार नै विराटनगरबाट घर ल्याइएको छ।

प्रिंयासु र दिव्यांशु स्थानीय बालासुन्दरी माध्यमिक विद्यालय, भगवानपुरमा अध्ययनरत थिए। प्रिंयासु कक्षा ८ र दिव्यांशु कक्षा ४ मा अध्ययनरत थिए। अशोक भगतका दुई छोरा र एक छोरी छन्। प्रिंयासु जेठा, दिव्यांशु माइला र ५ वर्षीया अनुष्का कान्छी छोरी हुन्।

प्रियांसुका बुवा भारतको दिल्लीमा मजदुरी गर्दै आएका छन्। दुई छोरालाई सर्पले डसेको खबर पाएपछि उनी भदौ ४ गते मात्र घर आइपुगेका थिए। प्रियांसुको मृत्युपछि सर्पदंशको उपचारका लागि जिल्लाकै स्वास्थ्य संस्थामा पर्याप्त एन्टिस्नेक भेनमसहित आवश्यक औषधि र उपचार सेवा सुनिश्चित गर्नुपर्ने माग परिवार तथा स्थानीयवासीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट