धनगढी : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई डडेलधुरामा सहकारी पीडित, भूमिहीन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना समस्या र माग सुनाएका छन् ।मंगलबार डडेलधुरा पुगेकी मन्त्री रावलले सुरुमा उग्रतारा मन्दिरमा दर्शन गरेकी थिइन्, त्यसपछि भूमि समस्या समाधान आयोगसम्बन्धी बैठकमा सहभागी भइन् ।
जिल्ला प्रशासन कार्यालय डडेलधुरामा जिल्ला तथा स्थानीय तहका कार्यालय प्रमुखहरूसँग पनि छलफल गरिन् । उक्त छलफलमा पत्रकारलाई प्रवेश गर्न दिइएन । बैठकको ढोका बन्द गरेर छलफल गरिएको थियो ।
त्यसपछि मन्त्री रावलले शिवशिखर सहकारीका पीडितसँग भेट गरेकी थिइन् । भेटमा पीडितहरूले चार वर्षदेखि बचत रकम फिर्ता हुन नसकेको भन्दै तत्काल पहल गर्न आग्रह गरे ।
डडेलधुरामा शिवशिखर सहकारीबाट झण्डै ६ हजार बचतकर्ताको करिब ३१ करोड रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ । शिवशिखर सहकारी पीडित संघर्ष समितिका संयोजक मानबहादुर साउँदले लामो समय बितिसक्दा पनि बचत फिर्ता हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पीडितहरूले ‘सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको झण्डै चार वर्ष भयो, रकम फिर्ता पाउन अझै कति वर्ष लाग्छ सरकार ?’ भन्दै मन्त्री रावललाई ज्ञापनपत्र बुझाएका थिए ।
हरेक सरकारले सहकारी पीडितका नाममा आश्वासन दिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरूले अब ठोस पहल गर्न आग्रह गरे । लाखौँ बचतकर्ताको समस्या समाधान नभए पीडितहरू सडकमा आउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
मन्त्री रावलले सहकारी र भूमिहीनका समस्या सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । सहकारी सञ्चालकहरूको खाता रोक्का गर्ने तथा सम्पत्तिको खोजी गर्नेलगायतका काम भइरहेको बताउँदै उनले बचतकर्ताको रकम फिर्ताका लागि पहल भइरहेको बताइन् ।
मन्त्री रावललाई उद्योग वाणिज्य संघ डडेलधुरा, निर्माण व्यवसायी संघ, नागरिक समाज, भूमिहीन पीडित संघर्ष समिति, क्रिकेट संघलगायत संघसंस्थाले पनि ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले जिल्लाको विकास, भूमि समस्या, सहकारी, खेलकुदलगायतका विषयमा आफ्ना माग र समस्या राखेका थिए ।
सहकारी पीडितसँगको भेटमा सुरुमा पनि पत्रकारलाई प्रवेश गर्न दिइएको थिएन । पत्रकारहरूले विरोध गरेपछि प्रवेश दिइए पनि भिडियो खिच्न भने रोक लगाइएको थियो । मन्त्री रावलले डडेलधुरा अस्पतालको पनि निरीक्षण गरिन् । अस्पतालको जनशक्ति, कर्मचारी व्यवस्थापन, उपकरण तथा पूर्वाधारलगायतका समस्याबारे जानकारी लिँदै अस्पताल सुधारका लागि पहल गर्ने बताइन् ।
सुदूरपश्चिममा रहेको एकमात्र संघीय अस्पतालका रूपमा डडेलधुरा अस्पतालको विकास र विस्तार आवश्यक रहेको बताउँदै उनले अस्पतालको समग्र सुधारका विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने बताइन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा । सुधा देवकोटाले अस्पतालमा कर्मचारी व्यवस्थापन, उपकरण तथा अन्य प्रशासनिक समस्या रहेको बताइन् । कार्यक्रममा प्रदेशसभा सदस्य तथा अर्थ समितिकी सभापति आकृति अवस्थी, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साउँदलगायतले पनि अस्पतालका समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि मन्त्री रावल अमरगढी नगरपालिका पुगेर जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरिन् । जिल्लाको समग्र विकास, भूमिहीनका समस्या तथा स्थानीय तहका आवश्यकताबारे त्यहाँ छलफल भएको थियो ।
मन्त्री रावलको डडेलधुरा भ्रमणका क्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना माग र समस्या राखेका थिए । भ्रमणका क्रममा डडेलधुरा अस्पताल, अमरगढी नगरपालिका तथा पार्टी कार्यालयको निरीक्षण तथा अनुगमनसमेत गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij