चितवन : चीनको तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन्।
ताल फुटेको सूचना प्राप्त भएपछि नेपालतर्फ नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको थियो।
ताल फुटेसँगै थप बाढीको जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले तिब्बतमा सञ्चालन गरिरहेको उद्धार अभियानसमेत अस्थायी रूपमा स्थगित गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धारमा खटिएका टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढाको सुरक्षित स्थानमा सारिएको छ।
नेपाल सीमातर्फ हिमपहिरोको भग्नावशेषले बनेको उक्त तालबाट पानी बाहिरिन थालेको जानकारीसमेत चिनियाँ पक्षले दिएको छ। ताल पूर्ण रूपमा फुटिनसकेको भए पनि पानी बाहिरिन थालेपछि नदीको बहाव बढ्न सक्ने भएकाले नेपालतर्फ उच्च सतर्कता अपनाइएको हो।
छोचेन खोला र पुरेपू त्साङ्पो नदी तिब्बतबाट बग्दै नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले तालबाट ठूलो परिमाणमा पानी बाहिरिएमा नेपालका नदी तटीय क्षेत्रमा समेत असर पर्न सक्ने सम्भावना छ।
यसअघि भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा चीनतर्फ पुनः ताल फुटेको खबर आएपछि नदी आसपासका बस्तीमा थप जोखिम बढेको छ। स्थानीय प्रशासनले सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij