Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सौराहा अनलाइनको समाचार प्रभाव : बाढीले बगाएको काठ उठाएर बिक्री–वितरण गरे कारबाही गर्ने डिभिजन वन कार्यालयको चेतावनी

सौराहा अनलाइनको समाचार प्रभाव : बाढीले बगाएको काठ उठाएर बिक्री–वितरण गरे कारबाही गर्ने डिभिजन वन कार्यालयको चेतावनी

चितवन : नारायणी नदी किनारमा बाढीले बगाएर ल्याएका गोलिया काठहरू ट्याक्टरमा हालेर अनधिकृत रूपमा लैजाँदै गरेको भिडियोसहित सौराहा अनलाइनले  भिडियोसहित समाचार प्रकाशित गरेपछि त्यसको प्रत्यक्ष प्रभाव परेको छ। समाचार प्रसारण भएलगत्तै डिभिजन वन कार्यालय चितवन गम्भीर बन्दै नदी क्षेत्रबाट काठ-दाउरा नउठाउन सर्वसाधारणका नाममा कडा चेतावनीयुक्त सार्वजनिक सूचना जारी गरेको छ।

रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढीले बगाएर ल्याएका काठ–दाउराहरू देवघाट, पुलचोक ९भरतपुर महानगरपालिका वडा नं ३, ज्ञानेश्वर र सेतिदेवी सामुदायिक वन क्षेत्रको नारायणी नदी किनारमा थुप्रिएका छन्।

सौराहा अनलाइनको भिडियो रिपोर्टमार्फत काठको चोरीनिकासी भइरहेको तथ्य बाहिरिएपछि वन कार्यालयले सर्वसाधारणलाई ज्यानको जोखिम मोलेर नदीमा नपस्न, काठ नतान्न, नकाट्न, ओसारपसार नगर्न र बिक्री–वितरण वा आफ्नो स्वामित्वमा नलिन कडा निर्देशन दिएको छ। यदि कसैले आफूखुसी काठ–दाउरा संकलन, चोरी वा बिक्री–वितरण गरेको पाइएमा वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

बाढीले ल्याएका काठको पहिचान, लगत संकलन, नापजाँच र सुरक्षित व्यवस्थापन वन कार्यालय आफैँले गर्ने भएकाले कतै यस्ता काठ–दाउरा देखिएमा नजिकैको वन कार्यालय, वन कर्मचारी वा सामुदायिक वन उपभोक्ता समूहलाई खबर गरिदिन कार्यालयले अनुरोध गरेको छ। सौराहा अनलाइनले निष्पक्ष र खोजमूलक पत्रकारितामार्फत प्राकृतिक स्रोतको चोरी–निकासी उजागर गरेपछि स्थानीय प्रशासन तथा वन कार्यालय तत्काल एक्सनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट