Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वापको केन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको मान्छे भन्दै धम्क्याउने पक्राउ

रास्वापको केन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको मान्छे भन्दै धम्क्याउने पक्राउ

काठमाडौं :   आफूलाई उच्च सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै नक्कली परिचय दिएर विभिन्न निकायमा धाक-धम्की दिने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनलाई सरकारी तथा राजनैतिक पदको परिचय दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुटो परिचय दिने गरेका थिए ।

सोही नक्कली परिचयको दुरुपयोग गर्दै उनी विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने गर्थे। त्यहाँ पुगेर उनले आफ्नो पदको रवाफ देखाउँदै अनुचित दबाब दिने र धाक-धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनले दाबी गरेको पद र जिम्मेवारी पूर्णतया नक्कली पाइएको छ।

यसबारे विस्तृत अनुसन्धान गर्न सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीले जानकारी दिए।

उक्त व्यक्तिले झुटो परिचय दिएर कसैलाई ठगी गरेको, कुनै प्रकारको अनुचित लाभ लिएको वा कसैलाई हानि-नोक्सानी पुर्‍याएको भए तत्काल जिल्ला प्रहरी कार्यालय, झापामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट