काठमाडौँ : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँका छोरा दीक्षान्त बानियाँ ३४ करोड रुपैयाँ बैंकिङ कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४, भैरहवाबाट पक्राउ गरेको हो ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ निवासी बानियाँ बानियाँ निर्माण सेवाका कार्यकारी निर्देशकसमेत रहेको थिए । प्रारम्भिक अनुसन्धानअनुसार बानियाँले भूगर्भ सिमेन्ट कम्पनीका नाममा चारवटा बैंकबाट करिब ३४ करोड रुपैयाँ कर्जा लिएको र उक्त रकम स्वीकृत प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको आरोप छ ।
सिमेन्ट उद्योग सञ्चालन तथा त्यससँग सम्बन्धित व्यावसायिक प्रयोजनका लागि लिइएको कर्जा अन्य कम्पनीमा लगानी गर्नुका साथै सेयर खरिदमा समेत प्रयोग गरिएको अनुसन्धान स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।नेपाल राष्ट्र बैंकको पत्रसहित प्राप्त जाहेरीका आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको सिआईबीले जनाएको छ । नेपाल सरकार वादी र दीक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएर सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि बानियाँलाई अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।बानियाँले लिएको कर्जा चुक्ता गरिसकेको भए पनि रकम स्वीकृत प्रयोजनभन्दा अन्यत्र प्रयोग भएको देखिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ मा बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिइएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थाको उल्लङ्घन भएको ठहर भए ऐनको दफा १५ अनुसार सजाय हुन सक्ने प्रावधान छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij