काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन आग्रह गरेका हुन् । देउवाले महाधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने तर्क गरेका हुन्। उनले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराए।
‘महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो’, उनले भने, ‘पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ। त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो।’
सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताए। सभापति थापाले पार्टीका विभिन्न तहमा देखिएका मतभिन्नताहरूलाई पन्छाउँदै अबको महाधिवेशनलाई एउटा भव्य उत्सवको रूपमा सफल बनाउनुपर्नेमा जोड दिए। थापाले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अघि बढ्न सके मात्र कांग्रेस आगामी दिनमा थप शक्तिशाली बन्ने दाबी गरे।
उनले नेतृत्वलाई पनि सबैको भावना समेट्ने गरी अघि बढ्न र यस महाधिवेशनलाई ऐतिहासिक बनाउन आह्वान गरे। पुरानो र नयाँ पुस्ताका सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर महाधिवेशनलाई सफल बनाउन सहयोग गरौँ भन्ने मेरो आग्रह छ’, उनले भने।
थापाले काग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिमा सोचेर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा राखे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij