Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

पाल्पा : पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन्।

एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार-व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन्।

स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगबाट बजारको मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक विराजले बताए।

उपभोक्ताको स्वास्थ्य र मागलाई प्राथमिकतामा राख्दै प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिए।

आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग खोलिएको भन्दै उनीहरूले ‘सिएन पिउने पानी उद्योग’ नाम राखेका छन्। पछिल्लो समय बजारमा व्यापार-व्यवसाय सुस्ताउँदै गएको अवस्थामा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनुलाई सकारात्मक रूपमा लिइएको वडाध्यक्ष प्रदीप खनालले बताए। उनले भने, “उद्योगले स्थानीयस्तरमै रोजगार सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

वडाध्यक्ष खनालले प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको गतिमा अघि बढिरहेको बताए। “प्रभासमा पिउने पानी उद्योग, दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठुलो सहयोग पुगेको छ”, उनले भने। व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई नयाँ आधार मिल्ने अध्यक्ष खनालको भनाइ छ।

प्रभास बन्दैछ नयाँ आर्थिक केन्द्र

तानसेन नगरपालिका-७ प्रभास पछिल्लो समय शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। मुख्य बजार क्षेत्रभन्दा बाहिर पनि विभिन्न प्रकृतिका उद्योग तथा संस्थाहरू सञ्चालनमा आउन थालेपछि प्रभास क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको पत्रकार भरत शर्माको बुझाइ छ। उनका अनुसार कुनै पनि क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनु त्यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुको सङ्केत हो।

उद्योग तथा व्यवसाय थपिँदै जाँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीयस्तरमा वस्तु तथा सेवाको माग बढ्ने, आर्थिक गतिविधि चलायमान हुने शर्माले बताए। “प्रभास क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै गएका छन् । यसले यस क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्दै गएको छ”, उनले भने ।

तानसेन नेपालको पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँको व्यापार-व्यवसायमा केही कमी आएको व्यवसायीहरूको गुनासो छ। बजारमा ग्राहकको चहलपहल घटेको, नयाँ व्यापारिक केन्द्रहरू विकास भएको र उपभोक्ताको खर्च गर्ने शैलीमा परिवर्तन आएको अवस्थामा स्थानीय क्षेत्रमा नयाँ उद्योग स्थापना हुनु सकारात्मक उपलब्धि मानिएको छ।

सिएन समूहले यसअघि यातायात क्षेत्रमा सफल लगानी गरिसकेको छ। व्यावसायिक सफलतासँगै यस समूहले विभिन्न सार्वजनिक स्थानहरूमा चौपारी निर्माण गर्नेलगायत सामाजिक र परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij