काठमाडौं : निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’ निर्माण गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो।
यसअघि पनि ‘बसन्ती’ नाममै सिनेमा निर्माण भइसकेको छ। २०५७ सालमा निर्देशक नीर शाहले यही नाममा सिनेमा बनाएका थिए। डायमण्ड समशेर राणाको चर्चित उपन्यास ‘बसन्ती’मा आधारित उक्त सिनेमाको प्रदर्शन भएको २६ वर्षपछि रायमाझीले सोही नाममा नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्।
‘बसन्ती’ निर्देशक रायमाझीको चौथो निर्देशकीय सिनेमा हुनेछ। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। यी तीनै सिनेमा व्यावसायिक रूपमा सफल भएका थिए।
निर्देशक रायमाझीका अनुसार सिनेमाको काठमाडौं सेड्युलको छायांकन असोज ३ गते शनिबारदेखि सुरु हुनेछ। काठमाडौंसँगै पाल्पा, जनकपुर, बुटवल तथा भारतका विभिन्न स्थानमा सिनेमाको छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमाको कथावस्तुबारे भने निर्माण पक्षले हालसम्म खुलासा गरेको छैन। ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्।
उनीहरूसँगै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक रायमाझी स्वयंको लगानी रहने सिनेमाको कथा रमेश बिजीले लेखेका हुन्। मुख्य सह–निर्देशकमा चन्द्रकुमार भट्टराई, एशोसिएट निर्देशकमा सुजता बस्याल राना तथा सह–निर्देशकमा यगेबहादुर राउत र सन्जीव चन्द रहेका छन्।
सिनेमाका गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बिबी अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीत बिबी अनुरागी र नारायण रायमाझीले दिनेछन्। छायांकन शिव ढकालले गर्नेछन् भने सह–छायांकारमा जयन्द्र रावल रहेका छन्।
नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी रहनेछ। श्यामश्वेत रसाइलीले साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टले भिएफएक्स र धनबहादुर राई (सन्देश)ले प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्।
सेट डिजाइन तथा निर्माणमा हुमबहादुर विक, आर्टमा धुर्व कार्की, श्रृंगारमा सरोज बुढाथोकी, ड्रेस डिजाइनमा श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij