Logo

Sep 19 2026 | २०८३, आश्विन ३गते

विद्युत्को तारमा बेरिएर चर्चित जंगली हात्ती रोनाल्डोको मृत्यु भएको आशङ्का, धार्मिक विधिअनुसार अन्त्येष्टि

विद्युत्को तारमा बेरिएर चर्चित जंगली हात्ती रोनाल्डोको मृत्यु भएको आशङ्का, धार्मिक विधिअनुसार अन्त्येष्टि

चितवन : चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

निकुञ्ज स्रोतका अनुसार रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार फेला परेको निकुञ्ज स्रोतले जनाएको छ । यसले रोनाल्डोको मृत्यु विद्युत्को तारमा बेरिएर भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाइएको छ ।

घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ । निकुञ्जले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । मृत हात्तीको तस्वीर तथा भिडियो खिच्न पत्रकारहरूलाई रोक्न निकुञ्जले सेना परिचालन गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डोको मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुनेछ ।

सौराहा–खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा परिचित रोनाल्डोको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रसँग लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन् ।

२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ । यही कारण रोनाल्डो हात्ती प्रजनन केन्द्रसँग विशेष रूपमा जोडिएका थिए ।

विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्न सक्ने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयमाझ लोकप्रिय थिए । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उनको नाम राखिएको बताइन्छ ।

निकुञ्जका अनुसार अन्य हात्तीसँगको संघर्षका क्रममा रोनाल्डोको शरीरमा चोटपटकका चिन्हसमेत देखिएका थिए । संघर्षकै क्रममा उनले आफ्नो पुच्छरसमेत गुमाएका थिए ।

रोनाल्डोको मृत्युले सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि परिचित रहेको एउटा चर्चित जंगली हात्तीको अन्त्य भएको छ । हात्तीको मृत्युको कारण, घटनाको प्रकृति र विद्युत्को तारसँगको सम्बन्धबारे निकुञ्जको अनुसन्धान तथा आधिकारिक विज्ञप्तिपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट