काठमाडौं : सरकारले शिक्षकलाई सवारीसाधन खरिदमा किस्तागत ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ । शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ मा यस्तो व्यवस्था राखेर शिक्षा मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपांग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।नियमावलीको प्रस्तावअनुसार बैंकमार्फत सवारीसाधन खरिद गर्दा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म सरकारले सहुलियतस्वरूप व्यहोर्नेछ। बाँकी २० प्रतिशत रकम शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ।शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने प्रस्ताव गरिएको छ।शिक्षकलाई सवारीसाधन खरिदमा आर्थिक सहुलियत उपलब्ध गराउने उद्देश्यले अघि सारिएको यो व्यवस्था अर्थ मन्त्रालयको सहमतिपछि नियमावलीमा समावेश हुने वा नहुने टुंगो लाग्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij