Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन निकुञ्जमा जिप सफारी पुन: सुरू, पर्यटन व्यवसायी उत्साहित

चितवन निकुञ्जमा जिप सफारी पुन: सुरू, पर्यटन व्यवसायी उत्साहित

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबारदेखि जिप सफारी सुरु भएको छ । बर्खाका बेला निकुञ्जभित्रका बाटो बिग्रने, खोलामा बाढी आउने, रुखहरू ढल्ने सम्भावनाका कारण १७ असारदेखि जिप सफारी बन्द गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायत जीव जनावर हेर्न देश विदेशबाट आउने पर्यटक जिप चढेर निकुञ्ज डुल्छन् । बर्खायाममा निकुञ्जका अधिकांश वन्यजन्तु तथा चराचुरिङ्गीले प्रजनन् गर्ने समय भएको निकुञ्जले जनाएको छ । त्यसै गरी जिप चल्ने कच्ची बाटो बर्खामा पानीले बिगार्ने, साना ठूला खोल्सा र खोलामा बाढी आउने, रुख ढलेर बाटो छेक्ने हुन सक्छ । त्यसैले हरेक वर्ष मनसुनका प्राय: २ महिना निकुञ्जभित्र जिप सफारी हुँदैन ।

निकुञ्जका वन्यजन्तुको संरक्षण, वासस्थानको पुनरोत्थान र पर्यटकको सुरक्षालाई ख्याल राख्दै बर्खायाममा जिप सफारी बन्द हुने गरेको निकुञ्जको सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले बताए । ‘बाटो मर्मत गरेर सकेका छौं । बन्द भएको जिप सफारी केही ठाउँमा शुक्रबारबाटै चालु भएको छ । अन्यत्र पनि अब क्रमशः सुरु हुन्छ,’ सूचना अधिकारी थापा मगरले भने ।

उनले कसरा र मेघौली क्षेत्रका जिपहरूलाई निकुञ्जभित्र सफारीका लागि अनुमति दिइसकेको बताए । सौराहाबाट पनि शनिबारदेखि नै जिप सफारी सुरु हुने व्यवसायीहरू बताउँछन् । ‘यस पटक देशमा बाढी र डुबानका दु:खद् घटना भए । हामी एक हिसाबले निरास थियौं । तर मौसमममा सुधार भएसँगै पर्यटक आएका छन् । सफारीका बारेमा सोधखोज गरिरहेका छन्,’ सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले भने ।

तिवारी होटेल सञ्चालकका साथै जिप सफारी सञ्चालन गर्ने सौराहाको निकुञ्ज सफारी प्रालिका अध्यक्ष पनि हुन् । उनले शनिबारका लागि पाँच वटा जिप अग्रिम बुकिङ भइसकेको बताए । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सौराहा, कसरा, मेघौली र निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जिप सफारी हुने गरेको छ ।

अघिल्लो वर्षसम्म सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट १२ र अमलटारीबाट आठवटा जिपले निकुञ्जभित्र पर्यटकलाई सेवा दिँदै आएका थिए । यो वर्ष पनि निकुञ्जले जिपको अवस्था हेरेर सफारीका लागि अनुमित दिन्छ । जिपको रंग हरियो हुनु पर्ने, चलेका बेलामा आवाज ठूलो हुन नहुने, चालकको लाइसेन्स र गाडीको बिलबुक अनिवार्य हुनु पर्ने र हरेक जिपमा जीपीएस राख्नु पर्ने सर्त छ ।

एउटा जिपमा चालक, एक जना नेचर गाइड र १० जना पर्यटक राख्न सकिने सूचना अधिकारी थापा मगरले बताए । दिनमा एक पटक निकुञ्ज छिरेको एउटा जिपको पाँच हजार रुपैयाँ राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसै गरी जिपमा बसेका पर्यटकको स्वदेशी भए १५० रुपैयाँ, विदेशी भए दुई हजार रुपैयाँ र सार्क क्षेत्रका भए एक हजार रुपैयाँ प्रवेश शुल्क पनि निकुञ्जलाई बुझाउनु पर्छ ।

निकुञ्जलाई तिर्नु पर्ने यो शुल्क जोडेर त्यसमा केही थप गरी जिप सफारी सञ्चालन गर्ने कम्पनीहरूले पर्यटकबाट सेवा शुल्क लिने गर्छन् । होटेल सञ्चालकसमेत रहेका निकुञ्ज सफारी प्रालिका अध्यक्ष ऋषि तिवारी सौराहामा पर्यटक आवागमन उत्साहजनक रहेको बताउँछन् । ‘मेरो होटेलमा २० वटा रुम (कोठा) छन् । आधा रुम चिनियाँले भरिएका छन् । स्वदेशी पनि छन् । इजरायली पनि छन्,’ उनले भने ।

आउँदो महिना नोभेम्बर (कात्तिक, मंसिर)मा विदेशी पर्यटक झनै बढ्ने उनको आशा छ । ‘भ्रमणमा आउने विदेशी नोभेम्बरमा बढ्छन् । त्यही बेला दसैं तिहार पनि छ । लामो बिदामा नेपाली घुम्न जाने क्रम पछिल्ला वर्षमा बढ्दो छ । यो बेलामा पनि सौराहा घुम्न आउनेको संख्या राम्रो छ,’ तिवारीले भने ।

निकुञ्जभित्र जिप सफारी बन्द भए पनि निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा जिप सफारीसँगै अन्य गतिविधिहरू हात्ती सफारी, डुंगा सफारीहरू बर्खामा पनि जारी नै छन् । हिजो आज हात्ती, डुंगा चढ्ने ठाउँमा पर्यटकको राम्रै चहलपहल देखिने तिवारीले बताए ।

भोटेकोशी बाढी र ११ असोजको नारायणी, कालिगण्डकी, मर्स्याङ्दी बाढीपछि व्यवसायीहरू यस पटक अलि सशंकित थिए । ‘यो हप्तादेखि फेरि घुम्न आउनेहरू बढेका छन् । अब निकुञ्जभित्र पनि पर्यटकीय गतिविधि सुरु भयो । त्यसैले आशावादी छौं,’ पर्यटकीय होटेलहरूको संस्था क्षेत्रीय होटेल संघ (हान) चितवन सौराहाका उपाध्यक्ष गुणराज थपलियाले भने । भोटेकोशी बाढीपछि अग्रिम बुकिङ क्यान्सिल हुँदा बढेको निराशा अहिले हटेको उनले बताए । विदेशीहरू धेरै नआए पनि आउँछन् भन्ने आशा पलाएको उनी बताउँछन् ।

मनसुन अवधिमा पनि चितवन निकुञ्ज घुम्न आउने पर्यटकको संख्या यस पटक राम्रै रहेको निकुञ्ज उपलब्ध गराएको विवरणले देखाएको छ । चालू आर्थिक वर्षको साउनमा ९ हजार ४२० र भदौमा ९ हजार ८३२ गरी कुल १९ हजार २५२ पर्यटकले निकुञ्जको मध्यवर्ती क्षेत्र भ्रमण गरेका छन् । अघिल्लो आव २०८२/८३ मा यी २ महिनामा १५ हजार ४१ र आव २०८१/८२ मा १४ हजार ७५९ पर्यटक आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij