Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

इयुले लगायो रुसका १६ सय व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध

इयुले लगायो रुसका १६ सय व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध

काठमाडौंः युरोपेली युनियन (ईयू)ले रुसको सैन्य–औद्योगिक क्षेत्रमाथि दबाब बढाउन करिब एक हजार ६०० नयाँ व्यक्ति र संस्थालाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय गरेको छ। ईयूकी विदेश नीति प्रमुख काया क्लासले सोमबार यसको जानकारी दिएकी हुन्।

उनले आधाभन्दा बढी सूचीकरण रुसी बलिस्टिक मिसाइल उत्पादनसँग सम्बन्धित आपूर्ति शृंखलालाई लक्षित गरेको बताइन्। रुस–युक्रेन युद्ध सुरु भएयता प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो एकमुस्ट विस्तार भएको क्लासले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन्।

क्लासका अनुसार, प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग हुने हतियार उत्पादनलाई रुसका लागि कठिन, ढिलो र महँगो बनाउनु हो। ईयूले यसबाट रुसको सैन्य उत्पादन क्षमतामाथि दबाब बढ्ने विश्वास गरेको छ।

लक्जमबर्गमा विदेश मामिला परिषद्को बैठकअघि क्लासले रुसको कब्जामा रहेका युक्रेनी भूभागमा गराइएका चुनावको पनि आलोचना गर्दै तिनलाई ‘देखावटी चुनाव’ भनेकी छन्। उनले युद्ध अन्त्यका लागि रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने र प्रतिबन्धका विषयमा अमेरिकासँग समन्वय बढाउनुपर्ने बताएकी छन्।

गत महिना ईयूले युक्रेनसम्बन्धी प्रतिबन्ध तीन हजारभन्दा बढी व्यक्ति र संस्थामाथि थप तीन वर्षका लागि लम्ब्याएको थियो। त्यस क्रममा तीन व्यक्ति र एक संस्थालाई भने सूचीबाट हटाइएको थियो। ईयू परिषद्का अनुसार, ती प्रतिबन्ध सन् २०२९ सेप्टेम्बर २२ सम्म लागु रहनेछन्।

प्रतिबन्ध सूचीमा परेका व्यक्तिमाथि यात्रा प्रतिबन्ध लगाइएको छ। उनीहरूको सम्पत्ति रोक्का गर्न र उनीहरूलाई रकम वा अन्य आर्थिक स्रोत उपलब्ध गराउनसमेत रोक लगाइएको छ।


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij