चितवन : भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ । बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो ।नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ । अहिले दैनिक १३ वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ ।
उनका अनुसार भूमिगत विद्युतीकरणअन्तर्गत १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरी सकिएको छ । भूमिगत विद्युतीकरणअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहककोमा लाइन जडान गर्नुपर्ने हुन्छ ।अहिलेसम्म आयोजनाले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरभित्र विद्युत्ीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij