Logo

Oct 23 2026 | २०८३, कार्तिक ७गते

थिमीमा कुभिण्डो जात्रा सम्पन्न

थिमीमा कुभिण्डो जात्रा सम्पन्न

भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा सम्पन्न भएको छ। नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी शुरु भएको थियो । 

कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहेको छ । 
    
नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताए। 
    
एकादशीका दिन आज तीन जना पमा थकाली, बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहित संलग्नतामा जात्रा मनाइएको उनले बताए। 
    
बाजागाजासहित लायकुबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटेपछि  त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो । कुभिण्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुखशान्ति हुने र  औषधिका रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट