Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

एउटा पुल बग्दा अर्को पुलमा जोखिमपूर्ण यात्रा, मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको भीड

एउटा पुल बग्दा अर्को पुलमा जोखिमपूर्ण यात्रा, मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको भीड

धादिङ : त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप अत्याधिक बढेको छ। दसैँ मनाएर गन्तव्यतर्फ फर्कने यात्रुहरूको चाप बढेसँगै यो पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ भने पैदलयात्रुहरूलाई समेत आवतजावत गर्न कठिन भएको छ।बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने चेतावनीमूलक सूचना टाँसिएको छ। तर, नियमको पालना नगरी एकै पटक धेरै मोटरसाइकल र स्कुटरहरू पुलमा प्रवेश गर्दा पैदलयात्रुहरूले अत्यन्तै साँघुरो ठाउँबाट कष्टकर रूपमा ओहोरदोहोर गर्नुपरेको छ।

समाजसेवी शिवराज सापकोटाका अनुसार झोलुङ्गे पुलमा सवारीसाधनको चाप अत्यधिक बढ्दा दुर्घटनाको सुरक्षा खतरा पनि उत्तिकै बढेको छ। पुलमा अत्यधिक भीडभाड बढेकाले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन वा सुरक्षाकर्मीको अनिवार्य उपस्थिति हुनुपर्ने उनको भनाइ छ। पुलभित्र मोटरसाइकलहरू प्रवेश गरेपछि पैदलयात्रुहरूलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा उनीहरूले एकअर्कालाई छलेर पुल पार गर्नुपर्ने बाध्यता रहेको छ।धादिङबाट चितवनतर्फ फर्कंदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले पुल पार गर्नका लागि लामो समयसम्म पालो कुर्नु परेको आफ्नो अनुभव सुनाए। “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नुपर्‍यो,” उनले भने। पुलको सुरक्षास्थितिप्रति गम्भीर चिन्ता भए पनि अन्य विकल्प नभएका कारण बाध्यतावश यही जोखिमपूर्ण बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ।

यसअघि दसैँ सुरु हुनुभन्दा अगाडि स्थानीय युवाहरूले पुलको प्रवेशद्वारमै बसेर नियम अनुसार एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने व्यवस्था मिलाएका थिए। तर, दसैँ सकिएसँगै काठमाडौँ, पोखरा र चितवनलगायतका सहरहरूमा फर्किने यात्रुहरूको सङ्ख्या अचानक बढेपछि पुलको चाप नियन्त्रण गर्न स्थानीयलाई कठिन भएको हो।गत भदौ १० गते आएको विनाशकारी बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र व्यस्त पृथ्वी राजमार्गलाई जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको थियो। त्यसयता सदरमुकाम तथा आसपासका विभिन्न क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल चालकहरूले त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुललाई नै मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट