Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

विश्वका उत्कृष्ट वाइल्डलाइफ रिसोर्टको सूचीमा चितवनको मेघौली सेराई, 'द टाइम्स'ले गर्‍यो प्रशंसा विश्वका नौ विशिष्ट वाइल्डलाइफ रिसोर्टमा नेपालको मेघौली पनि समावेश

विश्वका उत्कृष्ट वाइल्डलाइफ रिसोर्टको सूचीमा चितवनको मेघौली सेराई, 'द टाइम्स'ले गर्‍यो प्रशंसा विश्वका नौ विशिष्ट वाइल्डलाइफ रिसोर्टमा नेपालको मेघौली पनि समावेश

काठमाडौं : बेलायतको प्रतिष्ठित दैनिक 'द टाइम्स'ले विश्वका उत्कृष्ट वाइल्डलाइफ रिसोर्टको सूची प्रकाशित गरेको छ। सूचीमा चितवन राष्ट्रिय निकुञ्जको सिमानामा रहेको मेघौली सेराई पनि समेटिएको छ। नेपालको यो रिसोर्ट बोत्स्वानाको ओकाभाङ्गो डेल्टा, तान्जानियाको सेरेंगेटी, क्यानडाको वर्षावन र इक्वेडरको ग्यालापागोस टापुका नामी रिसोर्टसँगै एउटै सूचीमा समावेश भएको हो। यो नेपाली पर्यटन क्षेत्रका लागि गौरवको विषयसमेत हो।

'वन्यजन्तु मात्र होइन, बसाइँ पनि आकर्षक'

द टाइम्सको लक्जरी खण्डमा हालै प्रकाशित लेखले वन्यजन्तु पर्यटनको बदलिँदो प्रवृत्तिलाई केन्द्रमा राखेको छ। लेखअनुसार गोरिल्ला, हात्ती वा बाघ हेर्न संसारभरबाट पुग्ने पर्यटकका लागि वन्यजन्तु नै मुख्य आकर्षण हुन्छन्। तर अहिले केही वाइल्डलाइफ रिसोर्ट आफैँ पनि त्यत्तिकै आकर्षणको केन्द्र बनेका छन्। सामान्य पाल वा क्याम्पभन्दा धेरै माथि उठेका यी रिसोर्टमा सृजनशील डिजाइन, परिष्कृत सेवा, ताजा खाना, स्पा र पौडी पोखरी उपलब्ध छन्। द टाइम्सले यस्ता नौ रिसोर्ट छानेको हो। जहाँ बसिरहन मन लाग्छ। जंगल घुम्न निस्कन पनि उत्तिकै सहज हुन्छ। यही कसीमा चितवनको मेघौली सेराई अटाएको हो।

चितवनको जैविक सम्पदामाथि विश्वको ध्यान

पत्रिकाले राप्ती नदीको किनारमा रहेको मेघौली सेराईलाई चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि अत्यन्त उपयुक्त स्थानमा रहेको बताएको छ। चितवनलाई नेपालकै प्रमुख वन्यजन्तु क्षेत्र भन्दै त्यहाँ पाइने जनावर पनि उल्लेख गरेको छ। 

जसमा एक सिङ्गे गैँडा, पाटे बाघ, एसियाली हात्ती, घडियाल गोही, चितुवा र भालु छन्। युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको चितवन निकुञ्जको समृद्ध जैविक विविधताले नै यस रिसोर्टलाई विशेष पहिचान दिलाएको लेखबाट बुझिन्छ।

थारु संस्कृतिसँगै आधुनिक डिजाइनको संगम

द टाइम्सले मेघौली सेराईको सबैभन्दा उल्लेखनीय पक्ष आधुनिक वास्तुकला र स्थानीय थारु सम्पदाको मिश्रणलाई मानेको छ। रिसोर्टभर हस्तनिर्मित कलाकृति सजाइएका छन्। लाउन्जको झुमरलाई विशेष आकर्षणका रूपमा उल्लेख गरिएको छ। जुन १० हजार वटा हातले रंगाइएका नेपाली मोतीले बनाइएको हो।

पत्रिकाका अनुसार रिसोर्टमा ३० वटा सरल तर सुरुचिपूर्ण कोठा र भिला छन्। तिनबाट राप्ती नदी, घना जंगल वा फराकिलो घाँसे मैदानको दृश्य देखिन्छ। दुई शयनकक्षको प्रेसिडेन्सियल भिलासहित धेरैजसो कोठामा निजी प्लन्ज पुल वा डेक छ। जहाँ बसेरै वन्यजन्तु नियाल्न सकिन्छ।

जंगल सफारीदेखि नदी किनारको भोजसम्म

यहाँ आउने पर्यटक जिप सफारी, नदी सफारी र जंगल पदयात्रामार्फत निकुञ्जलाई नजिकबाट अनुभव गर्छन्। दिनभरको घुमाइपछि आरामका लागि राप्तीतर्फ फर्केको इन्फिनिटी पुल, स्पा र बार छन्।

खानपानमा पनि रिसोर्टले स्थानीय स्वादलाई प्राथमिकता दिएको छ। थारु, नेपाली र भारतीय परिकारसँगै अन्तर्राष्ट्रिय व्यञ्जन पाइन्छन्। मैनबत्तीको मधुरो उज्यालोमा बारबिक्यु, जंगलबीचको डिनर र नदी किनारको भोज यहाँका विशेष अनुभव हुन्। 

यस्तो भोजमा हात्ती र मृग नदी किनारबाट हिँडेको देख्न सकिने लेखमा उल्लेख छ। सूचीअनुसार यहाँ दुई जनाका लागि खानासहितको कोठाको मूल्य ८५० पाउन्ड स्टर्लिङदेखि सुरु हुन्छ।

नेपाली लगानी, ताजको व्यवस्थापन

मेघौली सेराई चौधरी ग्रुपको लगानीमा बनेको रिसोर्ट हो। यसको व्यवस्थापन भारतको ताज होटल्सले गर्दै आएको छ। ताज सफारिजले भारतको मध्य प्रदेशमा पहिलो लक्जरी वन्यजन्तु पर्यटन सर्किट बनाएको थियो। मेघौली सेराई भारतबाहिर उसले सञ्चालन गरेको पहिलो रिसोर्ट हो। यसका लागि सीजी होटल्स एन्ड रिसोर्ट्ससँग व्यवस्थापन सम्झौता भएको थियो।

सञ्चालनमा आउँदा लगानीकर्ताले यसलाई धनाढ्य पर्यटक, जंगल सफारीप्रेमी र वन्यजन्तु अनुसन्धाताका लागि लक्षित गरेका थिए। अफ्रिकातर्फ जाने सफारी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने अपेक्षा पनि राखिएको थियो। अहिले अफ्रिकाकै नामी रिसोर्टसँगै एउटै सूचीमा पर्नुले त्यो लक्ष्यतर्फको यात्रालाई बल दिएको छ।

रिसोर्टसम्म पुग्न पनि सहज छ। काठमाडौंबाट भरतपुर विमानस्थलसम्म करिब २० मिनेटको उडान छ। त्यहाँबाट मेघौली सेराई ३० किलोमिटर टाढा छ।

सूचीमा परेका अन्य देशका वाइल्डलाइफ रिसोर्ट

१. जिगेरा, बोत्स्वाना

बोत्स्वानाको ओकाभाङ्गो डेल्टास्थित मोरेमी गेम रिजर्भभित्र रहेको यो रिसोर्ट कलाकृतिका लागि चर्चित छ। यहाँ अफ्रिकी कलाकारबाट विशेष रूपमा बनाइएका सयभन्दा बढी कलाकृति छन्। सिमसार र वनले घेरिएको यस क्षेत्रमा हात्ती, सिंह, चितुवा र जंगली कुकुर देखिन्छन्।

Xigera-Safari-Lodge-1793008058.webp
सानो विमान, गाडी र डुंगा चढेर पुगिने यो रिसोर्टमा १२ वटा सुइट छन्। जमिनबाट १० मिटर अग्लो 'बाओबाब ट्रिहाउस' मा रात बिताउँदै ताराले भरिएको आकाश हेर्न सकिन्छ। मूल्य ३,००० पाउन्डदेखि सुरु हुन्छ।

२. सिंगिता सासाक्वा लज, तान्जानिया

सिंगिताको साढे तीन लाख एकडमा फैलिएको निजी ग्रुमेटी रिजर्भमा, एउटा पहाडको टुप्पोमा यो रिसोर्ट रहेको छ। एडवर्डियन कालको भव्य महल शैलीमा बनेको यहाँ नौ वटा कटेज र एउटा भिला छन्।

Singita-Sasakwa-Lodge-1793008056.webp
भीडभाडबिना सिंह, चितुवा, चितुवाजस्तै फुर्तिलो चिता, गैँडा र हात्ती हेर्न सकिन्छ। वार्षिक 'ग्रेट माइग्रेसन'का बेला वाइल्डबिस्ट र जेब्राका ठूला बथान यहीँबाट पार हुन्छन्। मूल्य २,७९२ अमेरिकी डलरदेखि सुरु हुन्छ।

३. बिसाते रिजर्भ, रुवान्डा

रुवान्डाको भोल्केनोज राष्ट्रिय निकुञ्जमा पहाडी गोरिल्ला हेर्न जाने पर्यटकका लागि यो रिसोर्ट बनाइएको हो। यसलाई सन् २०२४ मा सञ्चालनमा ल्याइएको हो। यहाँ चार वटा फराकिला भिला छन्।

Bisate-Reserve-1793008054.webp
प्रत्येक भिलामा फायरप्लेससहितको गुम्बजाकार शयनकक्ष र काठको आगोले तताइने हट टब छ। सन् २०२६ मा यहाँ तातो पौडी पोखरी, ध्यान कक्ष र जिमसहितको वेलनेस केन्द्र पनि खुलेको छ। मूल्य ४,९४६ पाउन्डदेखि सुरु हुन्छ।

४. क्लायोक्वोट वाइल्डरनेस लज, क्यानडा

क्यानडाको भ्यानकुभर टापुमा युनेस्को बायोस्फियर रिजर्भभित्र रहेको यो रिसोर्टसम्म सिप्लेनबाट मात्र पुग्न सकिन्छ। देवदारको जंगल, हिमनदीबाट बग्ने खोला र प्रशान्त महासागर मिल्ने ठाउँमा यो रिसोर्ट छ। यहाँ सफारी शैलीका पालमा तातो भुइँ र दाउराको चुलो छ।

Clayoquot-Wilderness-Lodge-1793008054.webpपर्यटक कालो भालु, ओटर र सिल हेर्न जान्छन्। मौसम मिल्दा ह्वेल र ओर्का पनि देख्न सकिन्छ। सूचीमा यो सबैभन्दा महँगो रिसोर्ट हो, जसको मूल्य ४,६७० पाउन्डदेखि सुरु हुन्छ।

५. काइमान, ब्राजिल

विश्वकै सबैभन्दा ठूलो उष्णप्रदेशीय सिमसार पान्टानालमा २०४ वर्ग माइलमा फैलिएको निजी रिजर्भभित्र यो रिसोर्ट छ। यसले गाईपालन फार्मसँगै वन्यजन्तु संरक्षणलाई जोडेको छ। जगुआर तथा हायसिन्थ म्याकाउ संरक्षणमा यसको काम उल्लेखनीय मानिन्छ। 

The-Pantanal,-Mato-Grosso-do-Sul,-Brazil-1793008056.webpp
यहाँ ५०० भन्दा बढी प्रजातिका जीव र ३५० प्रजातिका चराचुरुंगी पाइन्छन्। स्थानीय गोठालाको साथमा घोडा चढेर पनि सिमसार घुम्न सकिन्छ। मूल्य २,२०० पाउन्डदेखि सुरु हुन्छ।

६. पिकाइया लज, इक्वेडर

ग्यालापागोस द्वीपसमूहको सान्ता क्रुज टापुमा, समुद्री सतहबाट ४५० मिटर उचाइमा, निभिसकेको ज्वालामुखीको किनारमा यो रिसोर्ट बनेको छ। 

Pikaia-Lodge-1793008055.webp
वरपरको लाभा क्षेत्रमा विशाल कछुवा घुम्छन्। यहाँ १४ वटा कोठा मात्र छन्। पर्यटक निजी डुंगामा अन्य टापु घुम्छन् र समुद्री सिंह, समुद्री इगुआना र कछुवासँगै स्नर्कलिङ गर्छन्। मूल्य २,७८२ पाउन्डदेखि सुरु हुन्छ।

७. उगा चेना हट्स, श्रीलंका

श्रीलंकाको दक्षिणपूर्वी तटमा रहेको यो रिसोर्टबाट विश्वमै चितुवाको उच्च घनत्व भएको याला राष्ट्रिय निकुञ्ज करिब १५ मिनेटको दूरीमा छ। हिँडेर समुद्रतट पनि पुग्न सकिन्छ। जंगल र समुद्र दुवैको सान्निध्य यसको विशेषता हो। 

Uga-Chena-1793008057.webp
परिसरभित्रको तालमा फ्लेमिङ्गो आउँछन्, र गर्मीमा कछुवाका बच्चा समुद्रतिर लागेको देख्न सकिन्छ। यहाँ १८ वटा खरले छाएका कुटी छन्, जसमा निजी प्लन्ज पुल छ। मूल्य ९०० पाउन्डदेखि सुरु हुन्छ।

८. अरामनेस गिर, भारत

अफ्रिकाबाहिर जंगली सिंह पाइने संसारको एक मात्र ठाउँ भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्ज हो। यो रिसोर्ट त्यही निकुञ्जको छेउमा, १८ एकडको सागौन वनमा फैलिएको छ। 

dia-1793008055.webp
यहाँ १८ वटा दुईतले घर छन्, र हरेकमा भारतीय परम्परागत बाउली (स्टेपवेल) शैलीको निजी पोखरी छ। जंगल सफारीमा एसियाली सिंह नियमित देखिन्छन्। मूल्य ८०० पाउन्डदेखि सुरु हुन्छ, जुन सूचीमा सबैभन्दा सस्तो हो।

क्षेत्रीय प्रतिस्पर्धामा नेपाल अगाडि

सूचीमा दक्षिण एसियाका तीन मुलुक नेपाल, भारत र श्रीलंकाका वाइल्डलाइफ रिसोर्ट परेका छन्। छिमेकी मुलुकका नामी रिसोर्टसँग एउटै पङ्क्तिमा उभिनुले नेपालको वन्यजन्तु पर्यटन क्षेत्रीय प्रतिस्पर्धामा पछाडि नरहेको संकेत गर्छ। 

मूल्यका हिसाबले पनि मेघौली सेराई (८५० पाउन्ड) अफ्रिका र अमेरिकी महादेशका रिसोर्टभन्दा निकै सुलभ छ। यसले विश्वस्तरीय अनुभव तुलनात्मक रूपमा कम खर्चमा पाइने गन्तव्यका रूपमा नेपाललाई अगाडि ल्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट