Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

मुस्ताङ :  व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।

केही महिनादेखि पोखरा/काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन्। स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको थियो । घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडकमार्ग सञ्चालन भएको थियो।

दसैँको अन्तिम समयमा सडक सञ्चालन भएसँगै मुस्ताङको स्याउ एकैसाथ बजार पुर्याउँदा व्यापारीलाई स्याउ बिक्री गर्न समस्या परेको हो। मुस्ताङमा स्याउको व्यापार गर्दै आइरहेका धादिङ खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यसपटक भने स्याउ नबिकेर तनाबमा परेको बताउँछन्। उनले मुस्ताङबाट एक करोड बढी मूल्यको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको बताए । 

“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु”, व्यापारी तामाङले भने, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन ।”

मुस्ताङको स्याउ एकैपटक बजारमा ल्याउनुपर्दा गोदाम र मन्डी भरिएकाले स्याउको खपत हुन नसकेको हो। मुस्ताङमा यसवर्ष स्याउको उत्पादन राम्रो भएपनि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यहाँको स्याउ बजारमा बिक्री हुन कठिन भएको हो। यसवर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ।

विगतमा असोज अगावै मुस्ताङका स्याउ बिक्री भइसक्थ्यो। यसपाला सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ एकैसाथ बजार पुग्दा मूल्य र बिक्रीमा ह्रास आएको हो। यसवर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोज महिनाभित्र सबै स्याउ बिक्री भइसक्नुपर्नेमा आधा मात्रै स्याउ बिक्री गरेको बताउँछन्।

‘‘दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, किसान गुरुङले भने, “स्याउ खपत हुन नसक्दा बढी पाकेर स्याउ बोटबाटै झरेर नष्ट भइरहेको छ, ४०० टन जति स्याउ कोल्ड स्टोरमा राखेको छु।”

गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यसपाला स्याउ खपत हुने सिजन सकिन लागेकाले चिन्ता बढेको उनले बताए। यसवर्ष छिटो पाक्ने स्याउ भदौ १२ र ढिलो पाक्ने स्याउ भदौ २२ गतेबाट टिपाइ गर्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो।

सोही निर्णयअनुसार हरितालिका तीज पर्वको अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङले हालसम्म ५० प्रतिशत स्याउ पोखरा–काठमाडौँ लगायतका सहरमा निकासी भएको जनाएको छ।

कृषि तथा पशु विकास कार्यालय प्रमुख डा लालमणि अर्यालका अनुसार यसवर्ष सडक अवरुद्धका कारण मुस्ताङको स्याउलाई बजारीकरण गर्नमा केही समस्या परेको बताए।

बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट