Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

इजरायलमा नेतन्याहुको गठबन्धनले बहुमत नपाएपछि अरब पार्टीमाथि धाँधलीको आरोप

इजरायलमा नेतन्याहुको गठबन्धनले बहुमत नपाएपछि अरब पार्टीमाथि धाँधलीको आरोप

काठमाडौँ :  इजरायलमा भएको निर्वाचनको ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको छैन ।

त्यसपछि नेतन्याहुले अरब पार्टीहरूमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने अरब पार्टीहरूले मत ‘चोरेको’ आरोप लगाएका हुन् ।

उनले घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाता परिचालन गर्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको दाबी गरेका छन् ।

लिकुड पार्टीले चुनावमा धाँधली भएको भन्दै सयौँ उजुरी र प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय शिन बेट तथा केन्द्रीय निर्वाचन समितिमा बुझाइरहेको नेतन्याहुले बताएका छन् ।

केही अरब मतदान केन्द्रमा राुम पार्टीका मतपत्र र नगदसहितका हजारौँ खाम फेला परेको, मतदान केन्द्रका कर्मचारीलाई धम्की तथा हिंसा गरिएको, दोहोरो पहिचानमा मतदान भएको र मतदाताको सङ्ख्या तथा मतपत्रका खामको सङ्ख्यामा फरक देखिएको लगायतका घटना भएको उनको दाबी छ ।

नेतन्याहुले यी आरोपको गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

मतगणनाको ९७ प्रतिशत परिणामअनुसार नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट, उनका प्रतिद्वन्द्वी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट र अरब पार्टीहरूको गठबन्धनले १९ सिट प्राप्त गरेका छन् ।

इजरायली संसद्‌मा सरकार गठनका लागि १२० मध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ । हालको परिणामअनुसार कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट