काठमाडौँ : बागलुङ जिल्लामा विद्यालय मर्ज (गाभ्ने) र शिक्षकको जबर्जस्ती मिलान गर्ने स्थानीय तहको निर्णयविरुद्ध संघीय शिक्षण अनुदानका शिक्षकहरूले आपत्ति जनाएका छन्। संघीय शिक्षक सिक्का अनुदान बाग्लुङ जिल्लाका अध्यक्ष नवीन शर्माले यस्तो नीतिले बालबालिकाको पठनपाठनमा र शिक्षकहरूको रोजगारीमा गम्भीर असर पर्ने बताएका छन्। विशेषगरी शैक्षिक सत्रको बीचमा विद्यालय गाभ्दा विद्यार्थीहरूलाई अर्को विद्यालयमा सर्दा मानसिक रूपमा कठिनाइ हुने र अध्यापन गराइरहेका शिक्षकहरूको जागिर धरापमा पर्ने उनको भनाइ छ।
शर्माले भने, ‘ स्थानीय तहले गर्ने भनिएको यो प्रक्रिया तत्कालका लागि चालू आर्थिक वर्षसम्म रोक लगाउन सरकारसँग माग गर्छु । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भए तापनि केन्द्र सरकारबाट हस्तक्षेप गरी यसलाई हाललाई रोकियोस् भन्ने माग गर्छु । ’ यससम्बन्धी समस्याबारे शिक्षा समन्वय अधिकारी र सम्बन्धित निकायलाई निवेदन दिई ध्यानाकर्षण गराउने पहल भइरहेको उनले जानकारी दिएका छन्।
यदि मागको सुनुवाइ नभएमा माइतीघरमा एक्लै भए पनि धर्ना तथा विरोधका कार्यक्रमहरू गर्ने योजना रहेको उनले बताएका छन्। यो समस्या बाग्लुङ जिल्लाको मात्र नभई समग्र शिक्षा क्षेत्रको भविष्यसँग जोडिएकोले यसलाई हलुका रूपमा नलिन सरकारलाई आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij