रौतहट : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।
छर्रा लागेर घाइते भएका रमौली मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ।
घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको थियो। डीएसपी मीनबहादुर घलेको कमान्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट असई सञ्जयकुमार वर्माको कमान्डमा २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दयाकृष्ण भट्टको कमान्डमा २२ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घटनामा प्रयोग गरिएको भनिएका दुई नाल भरुवा बन्दुकसहित गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij