नवलपरासी : राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ। प्रहरीले सबै खालका सवारीसाधनलाई सडक किनारमा रोकेर नमस्ते गर्दै उनीहरुलाई लेन अनुशासन र सडक सुरक्षाबारे जानकारी गराउन सुरु गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले सवारीसाधनको गति नियन्त्रण र लेन अनुशासन पालना गराउन अभियान चलाइएको बताए।
“जिल्लाको राजमार्ग चार लेनमा विस्तार भएको छ, सडक फराकिलो भएपछि सवारीसाधनको गति बढ्ने र विपरीत लेनमा सवारीसाधन चलाउनेहरु बढ्छन्”, उनले भने, “हाम्रो मुख्य उद्देश्य भनेको सवारीसाधनको गति नियन्त्रण र लेन अनुशासन कायम गराउने हो।”
ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गको प्रवेश विन्दु गैँडाकोट र दाउन्नेमा सुरक्षा सचेतना सञ्चालन गरिरहेको बर्तौलाले बताए।
“सवारीसाधनलाई रोकेर विनम्रतापूर्वक चालकलाई ट्राफिक नियम, लेन अनुशासन र तीव्र गतिबारे जानकारी गराउने गरेका छौँ”, बर्तौलाले भने, “सुरक्षित गन्तव्य हाम्रो चाहना हो, जसबाट यात्रु पनि सुरक्षित रहनसक्नुहुन्छ।”
सडक विस्तार भएसँगै जिल्लामा विभिन्न स्थानमा फरक फरक गति निर्धारण गरिएको भन्दै बर्तौलाले तोकिएको गतिभन्दा तीव्र सवारीसाधन सञ्चालन नगर्न आग्रह गरे।
सडकमा हुने सवारीसाधन दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने गरेको भन्दै उहाँले गति नियन्त्रण तथा लेन अनुशासन पालन गरेको अवस्थामा दुर्घटना न्यूनीकरण हुने बताए।
सडक प्रयोगसम्बन्धी सचेतनासँगै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच, क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधन र बढी भाडा लिने सवारीसाधनको अनुगमन तथा कारबाही गर्ने काम गरिरहेको बर्तौलाको भनाइ छ।
ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त पहलमा अनुगमन तथा सवारी जाँचको काम भइरहेको बर्तौलाले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij