काठमाडौँ : नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज) मा एमबीबीएसको सिट संख्या थप गर्ने निर्णय विवादित बनेपछि सरकारले प्रा. डा. रमेश प्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले पेस गर्ने प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन भएपछि मात्र चिकित्सा शिक्षा साझा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ प्रक्रिया अघि बढाइनेछ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले आफू पूर्वप्रिन्सिपल रहेको सेनाको कलेजमा सिट बढाउन आफ्नै श्रीमतीलाई कार्यवाहक निर्देशकको जिम्मेवारी दिएर स्वार्थको द्वन्द्व निम्त्याएको आरोप सार्वजनिक भएपछि निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठेको थियो।
आयोगले यस वर्ष आर्मी मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० गरी कुल ११० एमबीबीएस सिट थप्ने निर्णय गरेको थियो।
यसै विवादका बिच चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी र सरकारबिच आज ६ बुँदे सहमति भएसँगै उहाँको २५ औँ सत्याग्रह अन्त्य भएको छ। सहमति अनुसार सिट थप्दा वा नयाँ कार्यक्रमको अनुमति दिँदा मापदण्ड उल्लङ्घन भएको या स्वार्थको द्वन्द्व प्रमाणित भएमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारीहरूलाई कडा कारबाहीको दायरामा ल्याइने भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij