Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

गण्डीगाड पुल निर्माण अधुरै

गण्डीगाड पुल निर्माण अधुरै

अछाम : सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पि सि एस–ए सि जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो।

मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन्।

पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए। नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ।

उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग रु पाँच करोड २१ लाखमा २०८२ असार २२ गते सम्झौता भएको थियो। पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउदले बताउनुभयो । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन्।

“मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठिक छैन”, साउदले भने।

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij