चितवन, २४ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
आज राति करिब ११ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी चौकी कुरिनटारले जनाएको छ । प्रहरी चौकी कुरिनटारका प्रहरी सहायक निरीक्षक (प्रसनि) बग्गप्रसाद कलवारका अनुसार एकदेखि डेढ घण्टाभित्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।