काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्रवियोगमा परेको ९ वर्ष पुगेको छ । २०७३ साल मंसिर ३ गते प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको थियो ।प्रकाश प्रचण्डका एक मात्र छोरा थिए । पिताको पदचिन्हमा हिँडेर जनयुद्धसमेत लडेका प्रकाश शान्तिप्रक्रियामा आएपछि भने विभिन्न विवादमा मुछिए । प्रचण्ड प्रधानमन्त्री छँदा प्रकाशले उनको सचिवालयमा रहेर बुवालाई सहयोग गरेका थिए । यसक्रममा उनले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोपहरू खेप्नु परेको थियो ।दुई विवाह गरेका प्रकाशको ३६ वर्षको अल्पायूमै निधन भयो । २०७४ मंसिर ३ गते बिहान काठमाडौंको लाजिम्पाटस्थित निवासमा उनी अचेत अवस्थामा भेटिएका थिए । त्यस दिन प्रचण्ड चुनावी अभियानका क्रममा झापामा थिए । प्रकाश केही दिनदेखि अस्वस्थ रहेको र चितवनबाट काठमाडौं फर्किएको त्यसबेला प्रकाशित समाचारहरुमा उल्लेख छ ।
परिवारका सदस्यले उनलाई बिहान नर्भिक अस्पताल पुर्याएका थिए । अस्पतालका चिकित्सकले बिहान करिब ५:५० बजे अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको बताएका थिए । नर्भिक अस्पतालले आकस्मिक हृदयाघातका कारण निधन भएको पुष्टि गरेको थियो । उनको शव परीक्षण गरिएको थिएन ।त्यतिबेला प्रचण्ड चुनावी अभियान छाडेर झापाबाट काठमाडौं फर्किएका थिए । पशुपति आर्यघाटमा प्रचण्डले नै दागबत्ती दिएका थिए ।प्रकाशले सर्वोच्च शिखर सगरमाथा आरोहणसमेत गरेका छन् । २०६९ जेठ १३ गते उनले कृष्ण केसीको नेतृत्वमा गएको टोलीसँगै सगरमाथाको सफल आरोहण गरेका थिए । उक्त टोलीमा बिना मगर, सरल सहयात्री, युवराज दुलाललगायतका युवा नेताहरू पनि थिए । सगरमाथा आरोहणमा साथ दिएकी बिना मगरसँग उनको दोस्रो विवाह भएको हो । टोलीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै कम्युनिस्ट पार्टीको झण्डासमेत फहराएको थियो ।नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनीमा सालिकसमेत निर्माण गरेको छ । २०७९ असार १७ गते प्रचण्डले उक्त सालिक अनावरण गरेका थिए ।
बहुपत्नी विवाद र कारबाही
प्रकाशले जीवनमा तीन विवाह गरेका थिए । पहिलो विवाह तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीकी कान्छी छोरी प्रभा बोगटीसँग २०६२ सालमा भएको हो । प्रभासित २०६४ सालमा सम्बन्धविच्छेद गरेका उनले सोही साल कास्कीको हेम्जाकी सिर्जना त्रिपाठीसित विवाह गरे । सिर्जनाबाट प्रकाशका एक छोरा प्रसिद्ध दाहाल छन् ।प्रकाशले तेस्रो विवाह पार्टीकै सहयोद्धा बिना मगरसँग गरे । सगरमाथा आरोहणका बेला उनीहरुबीचको सम्बन्ध सार्वजनिक चर्चामा आएको थियो । बिना त्यसबेला सरस्वती क्याम्पसकी स्ववियु सभापति र अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य थिइन् । सिर्जनासित सम्बन्धविच्छेद नगरी प्रकाशले बिनालाई पत्नी बनाएका हुन् । बिना पनि विवाहित नै थिइन् । माओवादीले सांस्कृतिक विचलनको आरोपमा प्रकाश र बिना दुवैलाई कारवाहीसमेत गरेको थियो ।प्रकाश र बिनाबाट पनि एक छोरा प्रवल दाहाल छन् । जेठा छोरा प्रसिद्ध र कान्छा प्रवलबीच चार वर्षजतिको अन्तर छ । प्रकाशको निधन हुँदा बिना कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिइन् । उनी चुनावी अभियानमै थिइन् ।प्रकाशको निधन पश्चात जेठी पत्नी सिर्जना बेहोश भएकी थिइन् । उनलाई अस्पताल भर्ना गर्नु परेको थियो । उनले एकल आमाका रुपमा छोरालाई हुर्काएकी हुन् । २०७९ मा उनी पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारका रूपमा माओवादी केन्द्रबाट सिफारिस भएकी थिइन् । त्यतिबेला उनी पोखरामै बसेर पार्टी राजनीतिमा सक्रिय थिइन् ।
दुवै पत्नीले सम्झिए
प्रकाशको नवौं स्मृति दिवसमा दुवै पत्नीहरुले उनलाई सम्झिएका छन् । सिर्जनाले फेसबुकमा प्रकाशको तस्विर हाल्दै मार्मिक स्टाटस लेखेकी छन् ।उनी लेख्छिन्, ‘छोराको अनुहार, स्वभाव र हरेक कुरामा तिम्रो छविको अनुभूति हुन्छ प्रकाश । तिमी सँधै हामीमाझ छौ । हार्दिक श्रद्धा सुमन । अजम्बरी प्रेम र सम्झना ।’
बिना मगरले पनि स्वर्गीय पतिलाई सम्झिँदै फेसबुकमा स्टाटस लेखेकी छन् ।
उनी लेख्छिन्, ‘आज तिम्रो स्मृति । दिन, महिना अनि वर्षहरु जति बित्दै गए पनि पिडाका घाउहरु झनै बल्झिँदो रहेछ प्रकाश ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij