Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

बालेन सरकार असफल भए पुस्ता र देश नै असफल हुन्छ : सुदन किराँती

बालेन सरकार असफल भए पुस्ता र देश नै असफल हुन्छ : सुदन किराँती

धनकुटा  : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले युवा प्रधानमन्त्री बालेन शाहलाई कुनै पनि हालतमा असफल हुने छुट नरहेको बताएका छन् ।

धनकुटाको साँगुरीगढी गाउँकमिटीद्वारा आयोजित ‘हातेमालो कार्यक्रम’लाई सम्बोधन गर्दै नेता किराँतीले वर्तमान सरकार असफल भएमा सिंगो पुस्ता र देश नै असफल हुन सक्ने चेतावनी दिएका हुन् ।

​कार्यक्रममा बोल्दै किराँतीले सरकार बलियो भएको समयमा पनि देश कमजोर हुँदै गएको महसुस भइरहेको टिप्पणी गरे । विगतको राजनीतिक इतिहास स्मरण गर्दै उनले भने, 'आज तथ्याङ्कमा हाम्रो देशमा धेरै जीवित प्रधानमन्त्रीहरू हुनुहुन्छ । तीमध्ये धेरै प्रधानमन्त्री फेल भए । दुःखद कुरा उनीहरूको नामनिसाना रहेन, तर सुखद कुरा देश रह्यो ।'


​वर्तमान नेतृत्वप्रति संकेत गर्दै उनले यो सरकारको सफलतासँग आम नागरिकको भविष्य जोडिएको उल्लेख गरे । 'यतिबेला हामीसँग युवा प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ । उहाँलाई कुनै पनि हालतमा फेल हुने छुट छैन,' किराँतीले भने, 'यो सरकार फेल भयो भने पुस्ता फेल हुन्छ र देशै फेल हुन सक्छ । देश फेल भयो भने हामी कोही पास हुन सक्तैनौँ ।'

नेता किराँतीले प्रधानमन्त्री शाहलाई संविधानको कसीमा राखेर मूल्याङ्कन गरिने स्पष्ट पारे । परम्परावादी र रूढीवादी मानसिकताले जस्तो अनावश्यक चाकडी वा गालीगलौज नगरी गुण र दोषका आधारमा धारणा बनाउने उनको भनाइ थियो । 'परम्परावादी, रूढीवादी मानसिकताले तपाईंको खुट्टा समाउला, हात समाउला र गाली गर्ला, तर हामी त्यसो गर्दैनौँ,' प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भने, 'हामी तपाईंलाई संविधानको कसीमा राखेर हेर्छौँ । गलत भए आलोचना र विरोध गर्छौँ, सही भए समर्थन गर्छौँ । दोष र गुणको आधारमा दृष्टिकोण निर्माण गर्छौँ ।'


​किराँतीले प्रधानमन्त्री शाह ‘जेनजी विद्रोह’को जगबाट सत्तासीन भएको स्मरण गराउँदै संविधानको पूर्ण पालना गर्न सुझावसमेत दिए । 'जेनजी विद्रोहबाट तपाईं सत्तासीन हुनुभएको हो । त्यो विद्रोहले सत्ता फालेको हो, तर संविधान फालेको होइन,' उनले थपे, 'बरु त्यही संविधानको धारा टेकेर सिंहदरबारको पदभार सम्हाल्नुभएको हो । त्यसैले तपाईंले संविधानको पालना गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट