Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

थारिन्दुको अविजित अर्धशतकमा चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएल फाइनलमा

थारिन्दुको अविजित अर्धशतकमा चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएल फाइनलमा

काठमाडौं : थारिन्दु रत्नायकेको उत्कृष्ट ब्याटिङ र स्कट कुगेलिनको घातक बलिङको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि नजिक पुग्ने महत्वपूर्ण सफलता हात पारेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको सुदूरपश्चिमका लागि थारिन्दु रत्नायके संकटमोचक बने। उनले ४२ बलमा ७ चौकाको मद्दतले अविजित ५३ रन बनाए। दबाबपूर्ण अवस्थामा पनि संयम नगुमाएका रत्नायकेले टोलीलाई जितको बाटो देखाए।

सुदूरपश्चिमको सुरुवात भने अपेक्षाअनुसार हुन सकेन। ओपनर जर्ज मुन्से ८ रनमा आउट भए। त्यसपछि विनोद भण्डारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा २३ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे।

स्कट कुगेलिन २ रनमा आउट भए भने ईशान पाण्डेले १० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा पभेलियन फर्किए। एक समय ४५ रनमा ४ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा परेको थियो।

तर रत्नायकेले आरिफ शेखसँग छैटौँ विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले। आरिफले १० रन बनाए। उनले आउट भएपछि फाबियन एलेनले ५ रन जोडे। अन्तिम समयमा रत्नायकेले दीपक बोहराको साथमा टोलीलाई १ बल बाँकी रहँदा जित दिलाए।

चितवनका लागि रञ्जित कुमारले ३ ओभरमा २५ रन खर्चेर सर्वाधिक २ विकेट लिए। कमल ऐरी, रिजान ढकाल, उसामा मिर र सलाहुद्दिन खानले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गरे। उनले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाए। मलानले एक छेउबाट इनिङ्स सम्हालिरहे पनि अर्को छेउबाट लगातार विकेट झर्दा चितवन ठूलो योगफल बनाउन असफल भयो।

सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। देव खनालले ६, कामिल मिसाराले ४, रवि बोपाराले १, विवेक यादवले ३, कुशल मल्लले १ र उसामा मिरले २ रन बनाए।

चितवनको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलिनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। कुगेलिनले कामिल मिसारा, सलाहुद्दिन खान र कमल ऐरीलाई आउट गरे।

थारिन्दु रत्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २० रन दिएर १ विकेट लिए। ईशान पाण्डे र हेमन्त धामीले पनि समान १ विकेट हात पारे।

चितवनले पावरप्लेमा ३ विकेट गुमाउँदै ३२ रन मात्र बनाएको थियो। लगातार विकेट गुमाएपछि दबाबमा परेको चितवनलाई डेभिड मलानले सम्हालेका थिए। उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए। तर उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन टोलीको जितका लागि पर्याप्त हुन सकेन।

१३४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले पनि सहज जित निकाल्न सकेन। मध्यक्रममा लगातार विकेट गुमाउँदा खेल रोमाञ्चक बनेको थियो। तर रत्नायकेको धैर्यपूर्ण र जिम्मेवार इनिङ्सले अन्ततः सुदूरपश्चिमलाई जित दिलायो।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको फाइनलमा स्थान पक्का गरेको छ भने चितवन राइनोजको उपाधि यात्रा दोस्रो क्वालिफायरमै समाप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट