Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

सोल :  दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सरकारी तथ्यांकअनुसार उक्त अवधिमा कामकाजी आमाको रोजगारी दर बढेर ६६.२ प्रतिशत पुगेको हो ।

दक्षिण कोरियाको तथ्यांक तथा तथ्याङ्क मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १८ वर्षमुनिका सन्तानसँग बसोबास गर्ने १५ देखि ५४ वर्ष उमेर समूहका विवाहित महिलाको रोजगारी दर गत वर्षको सोही अवधिको तुलनामा १.९ प्रतिशत विन्दुले बढेको छ ।सन् २०१६ देखि यससम्बन्धी तथ्यांक संकलन गर्न थालिएयता यो सबैभन्दा उच्च रोजगारी दर हो ।

Laxmi sunrise bank
यस अवधिमा १५ देखि ५४ वर्ष उमेर समूहका सबै विवाहित महिलाको समग्र रोजगारी दर भने एक प्रतिशत विन्दुले बढेर ६८.३ प्रतिशत पुगेको छ । यसले सन्तान हुर्काइरहेका महिलाको रोजगारीमा पनि उल्लेखनीय सुधार आएको देखाएको छ ।


सरकारले काम र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न लागू गरेका विभिन्न नीतिका कारण कामकाजी आमाको रोजगारी दर बढेको मन्त्रालयले जनाएको छ । विशेषगरी बालबालिकाको हेरचाह गर्नुपर्ने अवधिमा काम गर्ने समय घटाउन पाउने व्यवस्थालगायतका नीतिले महिलालाई रोजगारी निरन्तरता दिन सहयोग पुर्‍याएको बताइएको छ ।तथ्यांकअनुसार दुई सन्तान भएका आमाको रोजगारी दरमा सबैभन्दा उल्लेखनीय वृद्धि देखिएको छ। उनीहरूको रोजगारी दर २.२ प्रतिशत विन्दुले बढेर ६६.८ प्रतिशत पुगेको छ । यो एक सन्तान भएका आमाको रोजगारी दर ६६.१ प्रतिशतभन्दा बढी हो। दुई सन्तान भएका आमाको रोजगारी दर पहिलोपटक एक सन्तान भएका आमाको भन्दा माथि पुगेको हो ।


त्यस्तै, तीन वा सोभन्दा बढी सन्तान भएका आमाको रोजगारी दर ६२.५ प्रतिशत रहेको छ ।बहुसन्तान भएका परिवारलाई प्रदान गरिने सरकारी सुविधा तथा नीतिमा गरिएको परिवर्तनले पनि दुई सन्तान भएका आमाको रोजगारी वृद्धिमा योगदान पुर्‍याएको बताइएको छ। सरकारले बहुसन्तान भएका परिवारको आधिकारिक मापदण्ड तीन सन्तानबाट घटाएर दुई सन्तानमा झारेपछि यस्तो परिवर्तन देखिएको हो।

रोजगारी दर बढेसँगै दक्षिण कोरियामा सन्तान जन्माएपछि वा हुर्काउने क्रममा रोजगारी छाड्न बाध्य हुने महिलाको अनुपात पनि घटेको छ ।

१८ वर्षमुनिका सन्तानसँग बसोबास गर्ने १५ देखि ५४ वर्ष उमेर समूहका विवाहित महिलामध्ये करिअरमा अवरोध भोगेका महिलाको अनुपात पहिलो छ महिनामा दुई प्रतिशत विन्दुले घटेर १९.३ प्रतिशतमा झरेको छ ।

सन् २०१४ देखि यससम्बन्धी तथ्यांक संकलन गर्न थालिएयता पहिलोपटक यस्तो अनुपात २० प्रतिशतभन्दा तल झरेको हो ।

रोजगारीमा महिलाको सहभागिता बढ्नु र करिअरमा अवरोध भोग्ने महिलाको संख्या घट्नुले दक्षिण कोरियामा कामकाजी आमाका लागि रोजगारीमै रहन सहज वातावरण बन्दै गएको संकेत गरेको छ । सरकारले काम र परिवारबीच सन्तुलन कायम गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट