Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो

शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो

काठमाडौँ  : चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर स्थिति १ अर्ब ९८ करोड अमेरिकी डलरले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ अर्ब ८८ करोड अमेरिकी डलर रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष २ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता १ अर्ब ८२ करोड अमेरिकी डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ५५ करोड रुपैयाँ थियो । यस्तै, प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्ष यस्तो वैदेशिक लगानी १ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको थियो । समीक्षा अवधिमा खुद सेवा आय भने १९ अर्ब ५५ करोड रुपैयाँले घाटामा छ, जुन अघिल्लो वर्ष ३२ अर्ब २७ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत भ्रमण आय ३२.७ प्रतिशतले बढेर २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । उता भ्रमण व्यय १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ ।


तीन महिनामा कुल वस्तु निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब रुपैयाँ र आयात ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । फलस्वरूप व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट