कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा पहिरो रोकथाम तथा जोखिमयुक्त ढुंगा र माटो हटाउने कामका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै मंसिर ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मुग्लिन–नागढुंगा सडकखण्ड बन्द गरिने जनाएको हो ।
नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसिरहेको र सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
उक्त समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने भएकाले सोहीबमोजिम गर्न गराउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
सडक बन्द हुने समयबारे थप जानकारी, समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनाअनुसार सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij