Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

धारिलो हतियार देखाएर लुटपाट गर्ने युवतीसहित तीन जना पक्राउ

धारिलो हतियार देखाएर लुटपाट गर्ने युवतीसहित तीन जना पक्राउ

काठमाडौँ :  काठमाडौँको कलंकीस्थित सडकखण्डमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई कलंकी नै बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंसिर ३ गते बिहान अन्दाजी ३:४२ बजे काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा उनीहरूले धारिलो हतियार देखाई धाकधम्की दिएर मोबाइल लुटपाट गरी फरार भएका थिए। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो।


खोजतलासका क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिक सडकखण्डबाट भाग्दै गरेको अवस्थामा लुटिएका मोबाइलसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले भने, ‘धारिलो हतियार देखाई लुटपाट गरेर भाग्दै गरेका तीन जनालाई लुटिएका मोबाइलसहित नियन्त्रणमा लिएका छौँ।’

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij