Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

दक्षिण अफ्रिकामा तीन महिनामै ५८१ जना महिलाको हत्या

दक्षिण अफ्रिकामा तीन महिनामै ५८१ जना महिलाको हत्या

जोहानेसबर्ग  : दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा झन्डै ६०० महिलाको हत्या भएको छ । देशको पछिल्लो अपराध तथ्याङ्कले यस्तो भयावह स्थिति देखाएको हो ।

शुक्रबार सार्वजनिक गरिएको उक्त तथ्याङ्कअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म देशभर कुल ५८१ महिलाको हत्या भएको छ । जसमा जोहानेसबर्गसमेत पर्ने गाउटेङ प्रान्तमा मात्रै १३१ महिला मारिएका छन् । यस तथ्याङ्कमा जोहानेसबर्ग र आसपासका सार्वजनिक स्थानहरूमा अर्धनग्न तथा चोटपटक लागेको अवस्थामा शव फेला परेका १३ महिलाको घटनासमेत समावेश छ ।

विश्वमै लैङ्गिक हिंसा र हत्याको दर सबैभन्दा उच्च रहेको मुलुकमध्ये एक मानिने दक्षिण अफ्रिकामा यी हत्याका शृङ्खलाले देशव्यापी आक्रोश निम्त्याएको छ । दोषी पत्ता लगाउन प्रहरीमाथि तीव्र दबाब परिरहेको छ । यसै साताको सुरुमा फ्रि स्टेट प्रान्तमा पाँच महिला र एक नाबालकको गोली हानी हत्या गरिएको अर्को स्तब्ध पार्ने घटना बाहिरिएको थियो ।


पछिल्लो तथ्याङ्कले समग्र हत्याको सङ्ख्यामा भने सामान्य गिरावट आएको देखाएको छ । प्रहरीले सो अवधिमा कुल ५ हजार ५९० हत्याका घटना दर्ता गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २०४ ले कम हो । यद्यपि यो सङ्ख्या अझै पनि दैनिक औसत करिब ६० हत्या बराबर हो ।


महिला हत्याको यो सङ्ख्या विगतको तुलनामा बढेको वा घटेको भन्ने स्पष्ट हुन सकेको छैन । तथ्याङ्कमा ‘महत्वपूर्ण विसंगति’ रहेको भन्दै प्रहरीले पछिल्लो समय महिला हत्यासम्बन्धी विवरण सार्वजनिक गर्न रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij