काठमाडौँ : ह्वाइट हाउसले राष्ट्रिय साइबर सुरक्षा प्रमुख सिन केर्नक्रसलाई पदबाट हटाएको छ । राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए), अमेरिकी हवाई यातायात नियन्त्रण प्रणाली तथा केही बैंकमा लगातार प्राविधिक अवरोध देखिएपछि उनलाई पदमुक्त गरिएको हो ।
केर्नक्रस सन् २०२५ अगस्टदेखि अमेरिकाको राष्ट्रिय साइबर निर्देशकका रूपमा कार्यरत थिए । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार ह्वाइट हाउसका चिफ अफ स्टाफ स्टेफन मिलरले उनीप्रतिको विश्वास गुमाएपछि पदबाट हटाइएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रक्षा मन्त्रालयकी प्रमुख सूचना अधिकारी किर्स्टेन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशक नियुक्त गरिएको जानकारी दिएका छन् ।
एएफपी र सीबीएसले आफ्ना स्रोतलाई उद्धृत गर्दै केर्नक्रसलाई बर्खास्त गरिएको र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उक्त निर्णय भएको जनाएका छन् ।
एकपछि अर्को प्राविधिक अवरोध देखिएपछि अमेरिकी सरकारी निकाय तथा महत्त्वपूर्ण पूर्वाधारको साइबर सुरक्षामाथि प्रश्न उठिरहेको छ । विशेषगरी उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीले मानिसले पहिचान गर्न नसक्ने प्राविधिक कमजोरीसमेत पत्ता लगाउन सक्ने क्षमताका कारण सुरक्षा चिन्ता बढेको छ ।
यसै साता विदेशमन्त्री रुबियोले विभिन्न निकायमा देखिएका प्राविधिक अवरोधबीच कुनै सम्बन्ध रहेको प्रमाण नभेटिएको बताएका थिए । ‘हामीमाथि प्रणालीगत आक्रमण भइरहेको छैन,’ उनको भनाइ थियो ।
तर, छोटो समयमै राष्ट्रिय सुरक्षा एजेन्सी, हवाई यातायात नियन्त्रण प्रणाली र बैंकिङ क्षेत्रमा समस्या देखिएपछि दैनिक जीवनका विभिन्न क्षेत्रमा प्रयोग हुने प्रविधिको सुरक्षाबारे चिन्ता बढेको छ ।
केर्नक्रस यसअघि रिपब्लिकन पार्टीका वकिलका रूपमा कार्यरत थिए । ट्रम्पको पहिलो कार्यकालमा उनले ह्वाइट हाउसका चिफ अफ स्टाफको टोलीमा रहेर काम गरेका थिए । त्यसपछि निजी क्षेत्रमा काम गरेका उनी सन् २०२५ अगस्टमा पुनः सरकारी सेवामा फर्किएका थिए ।
यद्यपि, ह्वाइट हाउसले उनको बहिर्गमनबारे औपचारिक रूपमा सार्वजनिक पुष्टि गरेको छैन । उनलाई पदबाट हटाउनुको कारण पनि आधिकारिक रूपमा खुलाइएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij