काठमाडौं : दूधको भाउ कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्याउनुपर्ने माग गर्दै चितवनका दुग्ध किसानले ३० कात्तिकमा सडक आन्दोलन चेतावनी सहित विज्ञप्ति निकाले । दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन गरी ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुर लगायत जिल्ला पठाउने तथ्यांक सार्वजनिक गर्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पशु आहारको मूल्य आकाशिँदा पनि राष्ट्रिय दुग्ध विकास नीति २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने मूल्य पुनरावलोकन नगरिएको गुनासो गरेको छ ।
यही दबाबपछि बिहीबार दुग्ध विकास बोर्डले किसानका प्रतिनिधि र डेरी उद्योगीलाई एकै थलोमा राखेर छलफल त गर्यो, तर दूधको मूल्य कति तोक्ने भन्ने टुङ्गो चाहिँ लागेको छैन । यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै कारण उत्पादन लागत धानिनसक्नु भएको गुनासो गरिरहेका छन् । दूधदेखि अन्डा र मासुसम्मका सबै किसानलाई एकै पटक समस्यामा पारेको कारण हो– दाना र त्यसका मुख्य कच्चापदार्थ मकै तथा भटमासको मूल्यवृद्धि ।
किन बढ्यो दानाको मूल्य ?
नेपाल दाना उद्योग संघ अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार दाना बनाउन आवश्यक कुल कच्चापदार्थको ८० देखि ८५ प्रतिशत हिस्सा मकै र भटमासजन्य वस्तुले ओगट्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय र क्षेत्रीय बजारमा यी दुवै वस्तुको मूल्य बढेको छ ।
‘दानाको मूल्य बढ्नुको मुख्य कारण नै मकै र भटमासजन्य कच्चापदार्थ हो, यी वस्तुको मूल्य १५ देखि २० प्रतिशतले बढेको छ,’ अध्यक्ष सापकोटाले भने, ‘तर कच्चापदार्थ जुन अनुपातमा बढेको छ, त्यो अनुपातमा दानाको मूल्य बढेको छैन, त्यसैले अहिले पनि दाना उद्योगीहरू घाटामा छन् ।’
सापकोटाका अनुसार पहिला प्रतिकिलो ३६ रुपैयाँ पर्ने मकै अहिले करिब ५० रुपैयाँ पुगेको छ । त्यस्तै भारतबाट आउने भटमासको पिना पहिला प्रतिकिलो ८५ रुपैयाँ पर्ने गरेकामा अहिले १ सय २० रुपैयाँभन्दा माथि पुगिसकेको छ ।
भारतमा महँगो भएपछि नेपाली उद्योगीले बङ्गलादेशबाट सस्तोमा भटमासको पिना ल्याइरहेका थिए । बङ्गलादेशले अमेरिकाबाट भटमास ल्याई मिलमा पेलेर तेल निकालेपछिको पिना सात दिनमै नेपाल आइपुग्थ्यो ।
पहिला प्रतिकिलो ८०–८२ रुपैयाँमा पाइने बङ्गलादेशी पिना हाल ९५–९६ रुपैयाँमा आइरहेको थियो । तर, शुक्रबार (आज) देखि त्यो आपूर्ति पनि रोकिएको सापकोटाले बताए ।
‘बङ्गलादेशले आजैदेखि भटमासको पिना दिन छाड्यो, त्यहाँका मिलहरूले अब नेपालमा नपठाउने भनेका छन्,’ उनले भने ।
नेपालमा वार्षिक करिब साढे ६ लाखदेखि ७ लाख टन मकै खपत हुने गरेको संघको तथ्यांक छ ।
त्यसको करिब ७० प्रतिशत स्वदेशमै उत्पादन हुने भए पनि बाँकी ३० प्रतिशत भारतबाट मात्रै आयात गर्नुपर्ने बाध्यता छ । दानामा प्रयोग हुने करिब साढे ३ लाख टन भटमासको पिना भने शतप्रतिशत विदेशबाटै आयात गर्नुपर्छ ।
अमेरिकाबाट सिधै मकै वा भटमास मगाउँदा खाडीको युद्ध लगायत कारण तीन महिना अर्थात् ७५ दिनभन्दा बढी समय लाग्ने सापकोटाले बताए । अबको चार महिनापछि चैत–वैशाखमा नेपालमै नयाँ मकै निस्किने भएकाले तेस्रो मुलुकबाट मकै ल्याउन सम्भव नभएको उनको भनाइ छ ।
बजारमा करिब १५ थरीका दाना उत्पादन हुन्छन् । अहिले उद्योग मूल्य (एक्स–फ्याक्ट्री) प्रतिकिलो ६० देखि ८२ रुपैयाँसम्म पुगेको छ । ढुवानी र डिलर कमिसन जोड्दा बजारमा तल्लो तहको दाना ६०–६२ रुपैयाँ र माथिल्लो तहको दाना ८७–८८ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ ।
गाईभैँसीका लागि समेत चोकरमात्र नभई प्रोटिन, क्याल्सियम र फस्फोरस सन्तुलन गरिएको दाना खुवाउनुपर्ने भएकाले दुग्ध किसान पनि यसको चपेटामा परेका छन् ।
साना किसानले एक–दुई टन दाना सिधै उद्योगबाट गाडी भाडा तिरेर लैजाँदा झन् महँगो पर्ने भएकाले बीचमा डिपो र डिलरको उपस्थिति व्यावहारिक बाध्यता रहेको सापकोटाको तर्क छ ।
‘हामी उद्योगीको हातमा केही छैन, कच्चापदार्थ किनेको मूल्य हिसाब गरेर ५, १० वा २० पैसा नाफा जोडेर बेच्ने हो,’ सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय बजार हेर्ने हो भने दानाको मूल्य अझै बढ्नुपर्ने स्थिति छ, तर किसानले अन्डा र मासुको मूल्य नपाएर घाटा खाइरहेकाले उनीहरूलाई अझै मार नपरोस् भनेर उद्योगीले नै घाटा खाएर बसिरहेका छौं ।’
कच्चापदार्थको मूल्यवृद्धिको असर कुखुराको खोरदेखि ह्याचरी उद्योगसम्म देखिएको छ । नेपाल ह्याचरी उद्योग संघ अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार दानामा मकै र भटमास ८०–८५ प्रतिशत, ढुटोसहित ९०–९५ प्रतिशत र अन्य सामग्री जोड्दा शतप्रतिशत चिज बाहिरबाटै आयात गर्नुपर्छ ।
कच्चापदार्थ महँगिएपछि दाना उद्योगले मूल्य बढाउनु स्वाभाविक भए पनि त्यसको मारमा किसान र ह्याचरी उद्योगी परेको उनले बताए ।
लामिछानेले दिएको तथ्यांक अनुसार ब्रोइलर चल्लाको उत्पादन लागत प्रतिगोटा २२ देखि २५ रुपैयाँसम्म बढेर ७०–७५ बाट ९० रुपैयाँ पुगेको छ ।
‘किसानले नाफा हुन्छ भन्ने आधार नमानेसम्म चल्ला हाल्ने कुरा भएन, किसानले चल्ला नहाल्ने बित्तिकै ह्याचरीहरूले आफ्नो चल्ला गाड्ने कुरा पनि भएन,’ लामिछानेले भने ।
यस्तै पहिला प्रतिगोटा १ सय २५ रुपैयाँ लागत पर्ने लेयर्स चल्ला उत्पादन खर्च २०–२५ रुपैयाँ बढेर अहिले १ सय ५० पुगेको छ ।
अन्डा र ब्रोइलर किसानको अवस्था पनि उस्तै छ । दाना महँगिँदा अन्डा उत्पादन लागत प्रतिगोटा २ देखि ३ रुपैयाँले वृद्धि भएको छ, तर बजार माग नहुँदा दसैं–तिहार अगाडिसम्म प्रतिक्रेट ५ सयदेखि ५ सय ५० रुपैयाँ रहेको अन्डा अहिले ४ सयभन्दा कममा झरेको लामिछानेले बताए ।
ब्रोइलर कुखुरामा किसानले प्रतिकिलो कम्तीमा २ सय ३० देखि २ सय ३५ रुपैयाँ पाएमात्र खर्च उठ्छ । तर, भाउ घटेर अझै लागत उठ्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘ह्याचरीवाला पनि घाटा, अन्डा उत्पादन गर्ने किसान पनि घाटा र ब्रोइलर उत्पादन गर्ने किसान पनि घाटा—अहिले सबै घाटाको अवस्था छ,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘जसरी भए पनि कुखुरा पाल्ने किसानलाई केही पैसा नाफा हुनुपर्यो, त्यसमा सरकारले के गर्न सक्छ हेरिदिनुपर्यो ।’
दाना नबिग्रिने वस्तु भए पनि अन्डा र मासु निश्चित समयमा खपत नभए कुहिएर खेर जाने भएकाले किसान सस्तोमा बेच्न बाध्य भएको सापकोटाले बताए ।
विगत सात–आठदेखि दस वर्षयता कुखुराको मासु प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँभन्दा मुनि नै रहेको र अन्डा तथा दूधको भाउ पनि उस्तै रहँदा दानाको मूल्य भने धेरै माथि पुगिसकेको उनको भनाइ छ ।
यही कारण किसान पलायन हुँदा अहिले बजारमा घिउ, दूध, दही र पनिर समेत अभाव देखिन थालेको सापकोटा बताउँछन् ।
‘उपभोक्तालाई केही महँगी त पर्ला, तर किसानले लागत त उठाउनुपर्यो नि ! किसानले अलिअलि फाइदा गर्न पाएमात्र व्यवसाय चलायमान हुन्छ र बजारमा वस्तु पाइन्छ,’ सापकोटाले भने, ‘अहिलेको अवस्थामा दूध, मासु र अन्डाको मूल्य बढ्नैपर्ने स्थिति छ ।’
विश्व बजारमा सस्तिँदो मकै-भटमास, एसियामा भने दबाब
नेपालका उद्योगीले युक्रेन, युरोप, टर्की, इजिप्ट र विश्वभरि नै मकै तथा भटमासको समस्या रहेको बताए पनि अन्तर्राष्ट्रिय बजारको नोभेम्बर मध्यसम्मको ताजा तथ्यांकले भने मिश्रित अवस्था देखाउँछ ।
विश्वव्यापी रूपमा मासु, दूध र अन्डा (एनिमल प्रोटिन) को माग बढिरहँदा र मकै–भटमास (प्लान्ट प्रोटिन) उत्पादन सीमित हुँदा वर्षको मध्यतिर विश्व बजारमा दबाब थियो । तर, नोभेम्बरमा आइपुग्दा अमेरिका, युरोप, युक्रेन, इजिप्ट र टर्कीजस्ता बजारमा मूल्य घटेको वा स्थिर अवस्थामा देखिएको छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने अमेरिकी कमोडिटी एक्स्चेन्ज (सीबीओटी) मा नोभेम्बर १९ र २० को कारोबार अनुसार मकैको मूल्य प्रतिबुसेल करिब ४.३८ देखि ४.३९ डलर (करिब १ सय ७२ देखि १ सय ७३ डलर प्रतिटन) मा झरेको छ । यो पछिल्लो १४ हप्ता अर्थात् अगस्टयताकै न्यूनस्तर हो । पछिल्लो चार सातामा अमेरिकी बजारमा मकै ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
भटमासको भाउ पनि नोभेम्बरमा करिब ३ प्रतिशत घटेर प्रतिबुसेल १२.०७ देखि १२.०९ डलर (करिब ४ सय ४३ देखि ४ सय ४४ डलर प्रतिटन) मा झरेको छ ।
यस्तै भटमासको पिना प्रतिसर्ट टन (९ सय ७ किलो) ३ सय ३२ देखि ३ सय ३६ डलर अर्थात् करिब ३ सय ६६ देखि ३ सय ७० डलर प्रतिटन हाराहारी आइपुगेको छ ।
अमेरिकी डलर १९ महिनायताकै बलियो विन्दुमा पुग्नु र ब्राजिलमा ७८ प्रतिशत भटमास रोपाइँ सकिएर सहज आपूर्तिको संकेत देखिनुले विश्व बजारमा मूल्य घटेको हो । ब्राजिलमा मकै निर्यात मूल्य प्रतिटन १ज सय ९८ देखि २ सय २ डलर आसपास स्थिर छ भने अर्जेन्टिनामा आगामी सिजनमा ६ करोड ७५ लाख टन मकै उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
युक्रेन र युरोपमा समेत अहिले मूल्य नरम देखिएको छ । युक्रेनमा यस वर्ष मकै कटनीमा ढिलाइ भएर नोभेम्बर १६ सम्म ५६.२ प्रतिशतमात्र बाली भित्रिएको र भण्डारण क्षमता अभाव तथा ब्ल्याक सी बन्दरगाहबाट निर्यातमा अवरोध कायमै रहेकाले आन्तरिक बजारमा मकै थुप्रिएको छ ।
यसका कारण युक्रेनी मकैको निर्यात मूल्य (ओडेसा एफओबी) नोभेम्बर सुरुवातको युरो ०.१२३ बाट युरो ०.११९ प्रतिकिलोमा झरेको छ ।
युरोपेली संघमा सुक्खा मौसमले यस वर्ष करिब ६९ लाख टन मकै उत्पादन (१२ प्रतिशत) घटे पनि युक्रेनको सस्तो आपूर्ति र दानाको सुस्त मागले नोभेम्बरमा फ्रान्समा मकै युरो ०.२७ बाट ०.२६ प्रतिकिलो र जर्मनीमा युरो ०.२९ बाट ०.२८ प्रतिकिलोमा ओर्लिएको छ ।
इजिप्टमा पनि अक्टोबरयता डलर व्यवस्थापन र भन्सार जाँचपास सहज भएसँगै ब्राजिल, अर्जेन्टिना, युक्रेन र अमेरिकाबाट मकै भित्रिन थालेपछि पहेँलो मकै र भटमास पिनाको मूल्य घटेको छ ।
टर्कीमा भने कीर्तिमानी २ करोड ३० लाख टन गहुँ उत्पादन भई सरकारी अन्न एजेन्सीले १ करोड टनभन्दा बढीको भण्डारणबाट दाना गहुँ बिक्री खुलाएपछि आगामी फेब्रुअरीसम्म मकैको सक्रिय आयात स्थगित हुने अवस्था बनेको छ ।
तर, एसियाली बजारमा भने अवस्था उल्टो छ । थाइल्यान्डमा एल–निनो र प्रतिकूल मौसमले मकै कटनी ढिलाइ हुँदा दाना मकैको अभाव भई मूल्य सरकारी लक्ष्य ०.२९ डलर नाघेर ०.३४ डलर प्रतिकिलो नजिक पुगेको छ । त्यहाँका उद्योगीहरूले आयात प्रतिबन्ध खुकुलो पार्न सरकारसँग माग गरिरहेका छन् ।
बङ्गलादेशमा यस वर्ष डिजेलको भाउ ३५ प्रतिशतले बढ्नु, भारतबाट सस्तो मकै कम आउँदा ब्राजिल र अमेरिकाबाट महँगो समुद्री ढुवानीमा भर पर्नु तथा क्षेत्रीय आपूर्ति चापका कारण मकै करिब २४ प्रतिशत र भटमासको पिना १४ प्रतिशतले महँगिएको छ ।
आन्तरिक संकट बढेपछि बङ्गलादेशले नेपालतर्फ भटमासको पिना पठाउन रोक लगाउँदा नेपाली उद्योगमा त्यसको असर अझै देखिने उद्योगीहरू बताउँछन् ।
भारतमा इथानोल नीति र खडेरी असर : दूध र दानाको भाउ कति ?
नेपालको मकै र भटमास बजारमा प्रत्यक्ष प्रभाव पार्ने छिमेकी मुलुक भारतमा अहिले मकै र भटमासको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।
भारतको पशु आहार उत्पादक संघ (सीएलएफएमए) का अनुसार पछिल्लो चारदेखि ६ सातामै मकैको मूल्य ३० देखि ४० प्रतिशतले उकालो लागेको छ ।
नोभेम्बर सुरुवातसम्म मकै प्रतिटन भारु ३१ हजारदेखि ३६ हजार (प्रतिकिलो ३१–३६ भारु) सम्म पुगेको थियो भने प्रमुख बजारहरूमा न्यूनतम समर्थन मूल्य (भारु २४.१०) भन्दा धेरै माथि भारु २७ देखि ३० प्रतिकिलोमा कारोबार भइरहेको छ ।
भारतको सरकारी थोक मूल्य सूचकांक (डब्लूपीआई) का अनुसार सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा भटमास ३२ प्रतिशत, खली–पिना (तोरीको बाहेक) ४० प्रतिशत र धानको ढुटो २१ प्रतिशतले महँगिएको थियो ।
कमजोर मनसुन र खडेरीले बालीमा क्षति पुर्याउनुका साथै भारत सरकारले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने (ई२०) कार्यक्रममा ठूलो मात्रामा मकै प्रयोग गर्न थालेपछि अभाव चर्किएको हो ।
नेपालको कतिपय मकैसमेत भारततिर गएको अध्यक्ष सापकोटाको दाबी छ । भारतको आन्तरिक बजारमै भटमास पिना महँगिएपछि भारतीय व्यापारीले निर्यात घटाएर उल्टै अफ्रिकाबाट भटमास आयात गर्न थालेका छन् ।
कच्चापदार्थ महँगिएपछि भारतमा कुखुरा दानाको भाउ निकै बढेको छ । नोभेम्बर तेस्रो सातासम्म केरलाको मल्लापुरममा ५० किलो बोराको प्रिस्टार्टर दाना पाँच महिनाअघिको १ हजार ८ सय ५० भारुबाट करिब ४९ प्रतिशत बढेर २ हजार ७ सय ५० भारु पुगेको छ ।
त्यस्तै स्टार्टर दाना १ हजार ९ सयबाट २ हजार ७ सय १५ भारु र फिनिसर दाना १ हजार ९ सय ५० बाट २ हजार ६ सय ८० भारु पुगेको छ । समग्र भारतमा ब्रान्डेड लेयर्स दाना नोभेम्बरमा प्रतिकिलो २५ देखि ४६ भारु (मुख्यत: ३० देखि ३८ भारु अर्थात् ५० किलो बोराको १ हजार २ सय ५० देखि २ हजार ३ सय भारु) मा कारोबार भइरहेको छ ।
त्यसैगरी दाना, हरियो तथा सुक्खा घाँस, प्याकेजिङ र ढुवानी खर्च बढेको भन्दै भारतका प्रमुख डेरी ब्रान्डहरूले नोभेम्बरमै देशव्यापी रूपमा दूधको मूल्य बढाइसकेका छन् ।
कर्नाटकको नन्दिनी दूधले नोभेम्बर १ देखि नै प्रतिलिटर ८ भारु बढाएर टोन मिल्क ४६ बाट ५४ भारु पुर्याएको छ, जसको ७ भारु सिधै किसानलाई (खरिद मूल्य ३५ बाट ४२ भारु र सरकारी प्रोत्साहन ५ भारु गरी कुल ४७ भारु) तथा १ भारु सहकारीलाई जाने व्यवस्था गरिएको छ ।
यस्तै, अमूल र मदर डेरीले नोभेम्बर १२ देखि देशभरि दूधको भाउ प्रतिलिटर २ देखि ४ भारुले बढाएका छन् ।
दिल्ली–एनसीआरमा मदर डेरीको टोन मिल्क (प्याकेट) ६० बाट ६२ भारु, फुल क्रिम ७२ बाट ७६, गाईको दूध ६२ बाट ६५ र डबल टोन ५४ बाट ५६ भारु पुगेको छ ।
अमूलले पनि अमूल ताजा ५९ बाट ६१ भारु (२ भारु वृद्धि) र अमूल गोल्ड ७२ बाट ७६ भारु (४ भारु वृद्धि) पुर्याएको छ । यसअघि सेप्टेम्बर १ देखि मुम्बईमा थोक भैँसीको दूध ९ भारु बढाएर १ सय २ भारु (खुद्रा १ सय १० देखि १ सय १२ भारु) र तमिलनाडुमा सरकारी खरिद मूल्य ६ भारु बढाएर गाईको दूध ४४ भारु तथा भैँसीको दूध ५३ भारु प्रतिलिटर कायम गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij