सप्तरी : राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको स्थान ‘मजदुर बजार’ का रूपमा परिचित छ। यहाँ बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर आइपुग्छन्। उनीहरू सबैको एउटै साझा उद्देश्य हुन्छ, दिनभरको मजदुरी पाउनु।
बेरोजगारी र जीविकोपार्जनको समस्याका कारण विभिन्न उमेर समूहका मजदुर दैनिक यहाँ आएर काम दिने साहु तथा ठेकेदारको प्रतीक्षामा बस्न बाध्य छन्। जिल्लाका विभिन्न पालिकाबाट आएका श्रमिक काम पाउने आशमा यहाँ भेला हुने गरे पनि दिनभर पर्खँदा समेत काम पाउने टुङ्गो हुँदैन।
रूपनी गाउँपालिका–कटैयाका रामप्रसाद यादव परिवारको छाक टार्न मजदुरी खोज्दै दैनिक यहाँ आउने गरेको बताउँछन्। काममा लैजाने ठेकेदारले मजदुरको शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा छनोट गर्ने भएकाले फुर्तिला र काम गर्न सक्ने देखिनेले छिटो काम पाउने गरेको उनको अनुभव छ।
‘दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर आठ सय रुपैयाँसम्म कमाइ हुन्छ। तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ,’ यादवले भने। काम पाउने आशामा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए रित्तै घर फर्कनुपर्ने बाध्यता रहेको उनले सुनाए।
विष्णुपुर गाउँपालिका–६ का बद्री सदाका अनुसार घर निर्माणमा काम गर्ने मिस्त्रीले दैनिक एक हजार दुई सय रुपैयाँसम्म ज्याला लिने गरे पनि सामान्य मजदुरले कामको प्रकृति र क्षमताअनुसार ६ सयदेखि एक हजार रुपैयाँसम्म पाउने गरेका छन्। राम्रो काम गर्दा पनि उचित ज्याला नपाएको अनुभवसमेत आफूसँग रहेको उनले बताए।
मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साहले काम राम्रो गर्ने र नियमित आउने श्रमिकलाई काम आवश्यक पर्दा फेरि बोलाउने गरेको बताए। ‘राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ। काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ,’ उनले भने। दक्षता र कामको प्रकृतिअनुसार मजदुरले दैनिक सात सयदेखि एक हजार रुपैयाँसम्म ज्याला पाउने गरेको साहको भनाइ छ।
जिल्लामा हजारौँ मजदुर रहे पनि सरकारले तोकेको ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले बताए। मजदुरका लागि व्यवस्थित स्थान नहुँदा कामको खोजीमा उनीहरू दैनिक चोकमा आएर उभिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन्। तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन,’ देवले भने। कामको प्रतीक्षामा बस्ने मजदुरका लागि बस्ने ठाउँलगायत सामान्य सुविधा मात्रै उपलब्ध गराउन सके पनि ठूलो राहत हुने उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij