Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

ताप्लेजुङमा १२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सम्पन्न

ताप्लेजुङमा १२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सम्पन्न

ताप्लेजुङ :  ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको हेडवर्क्स र सेटलिङ बेसिनमा काम भइरहेको छ । त्यस्तै, आयोजनाको मुख्य संरचनामध्ये एक हेडरेस टनेलको खनन सुरु भइसकेको छ भने पावरहाउस निर्माणस्थलमा पनि खननको काम थालिएको छ ।
आयोजनाका लागि आवश्यक सबै जग्गा खरिद गरिसकिएको कम्पनीले जनाएको छ । जग्गा खरिदको काम सकिएसँगै निर्माण कार्यलाई थप गति दिन सहज भएको कम्पनीको भनाइ छ ।

आयोजनाको वित्तीय व्यवस्थापन सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी) सहितको सहकार्यमा सम्पन्न भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड सहनेतृत्व बैंकका रूपमा रहेको छ । हालसम्म आयोजनाको निर्माणमा प्रवर्द्धकहरूको स्वपुँजी लगानी प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

हालै आयोजनाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीसहित उच्च व्यवस्थापन टोलीसँग आयोजनास्थलको भ्रमण गरी निर्माण कार्यको अवस्थाबारे जानकारी लिएका थिए ।


सो अवसरमा चौधरीले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरे । उनले आयोजनाको निर्माणमा अनुभवी र व्यावसायिक टोली खटिएको बताउँदै तोकिएको समयभित्रै काम सक्ने प्रतिबद्धता जनाए ।


तमोर मेवा जलविद्युत् आयोजना ताप्लेजुङमा निर्माण भइरहेका ठूला जलविद्युत् आयोजनामध्ये एक हो । आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा १२८ मेगावाट योगदान पुग्ने अपेक्षा गरिएको छ ।

हेडवर्क्स, सुरुङ र पावरहाउसमा एकैसाथ निर्माण कार्य अघि बढिरहेको कम्पनीले जनाएको छ । निर्माणको हालको गतिलाई कायम राख्दै आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट