काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्र सीमित नरहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा विज्ञप्ति जारी गर्दै उनले पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि सम्झौताको मूल उद्देश्य रहेको बताएका हुन् ।
‘शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् । उनले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई द्वन्द्वपीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् ।
प्रचण्डले ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा ९माओवादी० का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गरेका छन् । उनका अनुसार उक्त सम्झौता दुई पक्षबीचको सहमतिमा मात्र सीमित थिएन । नेपाली जनताको त्याग, बलिदान, सङ्घर्ष र परिवर्तनको आकाङ्क्षाबाट निर्माण भएको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्ताबेज थियो ।
विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उनले बताएका छन् । नेपालको राजनीतिक इतिहासमा शान्ति सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ ।
यद्यपि, शान्ति सम्झौतामा गरिएका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको प्रचण्डले स्वीकार गरेका छन् । विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुंग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी रहेको उनले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij