चितवन : राप्ती नदी वारि प्रायः वन तथा वन्यजन्तु हेर्न आउने पर्यटकको चहलपहल हुने गर्छ । बिहीबार बेलुकी भने त्यहाँ सङ्गीत सुन्न आउने दर्शकको बाक्लो भीड लाग्यो । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारलाई नेपाली लोकरकसँग जोड्न नेपथ्य ब्यान्डले सौराहामा भव्य कन्सर्ट सम्पन्न गरेको छ ।
कन्सर्टले यो पर्यटकीय गाउँको महत्वलाई झनै फराकिलो बनाएको स्थानीय होटल व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । कन्सर्ट सकिएपछि स्थानीय मोनालिसा होटलका सञ्चालक केशव खनालले राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको गन्तव्यका रूपमा चिनिएको सौराहामा सङ्गीत सुन्न आउनेहरूको भीडले कारोबार बढाएको बताए ।
नेपथ्यको कन्सर्टमा व्यक्त सन्देशहरूले पनि व्यवसायीमा हौसला बढाएको खनालको भनाइ छ । गायक अमृत गुरुङले मञ्चबाट दिएको सन्देशको प्रशंसा गर्दै उनले भने, ‘वन्यजन्तुको सुरक्षाका साथसाथै मानव बस्तीलाई पनि साथमा लिएर संरक्षणमुखी पर्यटनको विकास गर्न गायकले मञ्चबाट आह्वान गर्नुभयो । यति ठूलो जमघटमा यस्तो सकारात्मक सन्देश फैलाएकामा हामीजस्ता पर्यटन व्यवसायी अझ बढी प्रभावित भएका छौँ ।’
एक महिनाअघि काठमाडौँ उपत्यकाको कीर्तिपुरमा प्रस्तुति दिएको नेपथ्यले त्यसपछि सिक्किम, इटहरी र चारआलीमा उत्साहजनक उपस्थितिमाझ कन्सर्ट गरेको थियो । सौराहामा पनि ब्यान्डले दर्शकको उत्तिकै साथ पाएको छ ।
घडी देखाएर निर्धारित समयमा सुरु भएको कन्सर्टमा मञ्च प्रवेश गर्दैगर्दा गायक गुरुङले दर्शकदीर्घाबाट ठूलो आवाज र तालीका साथ स्वागत पाए । ‘कोशीको पानी यो जिन्दगानी’ बाट सुरु भएको उनको गायनले दुई घण्टासम्म दर्शकलाई नचाएको थियो । ‘रातो र चन्द्रसुर्जे’ को प्रस्तुतिबाट उनले कन्सर्टको विश्राम लिए । कन्सर्टमा गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
यस पटकको यात्रामा नेपथ्यले मुलुकका ग्रामीण बस्ती तथा मझौला सहरहरूलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समय अनलाइनबाटै टिकट काट्ने चलन बढ्दै गएकामा सौराहा कन्सर्टमा पनि त्यसले निरन्तरता पाएको ‘थुप्रै डटकम’ ले जनाएको छ । थुप्रैका दीपेश आचार्यका अनुसार चार वर्षअघि नेपथ्यले देशव्यापी यात्रा गर्दा कुल टिकटको १० प्रतिशत मात्रै अनलाइनबाट बिक्री भएको थियो, तर यसपालि सौराहामा कुल बिक्रीको ६५ प्रतिशत टिकट अनलाइनबाटै गएको छ ।
चार वर्षअघि चितवन कन्सर्टका बेला ९ प्रतिशत दर्शकले अनलाइन टिकट काटेका थिए भने गत वर्ष यो सङ्ख्या ५२ प्रतिशत पुगेको थियो । यस लहरमा सबैभन्दा बढी अनलाइन टिकट बिक्री गत महिनाको कीर्तिपुर कन्सर्टमा भएको थियो, जहाँ कुल बिक्रीको ७१ प्रतिशत हिस्सा अनलाइनले ओगटेको थियो । यसले अन्य सङ्गीतकर्मीका निम्ति पनि प्रविधिमैत्री सम्भावनाको ढोका खोलेको देखिन्छ ।
अब नेपथ्यको आगामी कन्सर्ट शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ, जसका लागि अपराह्न ४ बजे ढोका खुला गरिनेछ । त्यसपछि क्रमशः म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट तय गरिएको छ । स्वदेशको यो यात्रा सकिएपछि ब्यान्डले डिसेम्बरमा अस्ट्रेलियाको एडिलेड, सिड्नी र पर्थ सहरमा शृङ्खलाबद्ध प्रस्तुति दिने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले नेपथ्यको वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सकिने प्रबन्ध मिलाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij